महाभूकम्पले गर्दा बुद्ध जयन्ती विविध खेलकुदसहित प्रार्थना दिवसमा परिणत


Buddha1 यस पटकको बुद्ध जयन्तीका अवसरमा आयोजना गरिएको कार्यक्रमलाई प्रार्थना दिवसमा परिणत गरिएको छ । बुद्ध जयन्तीका अवसरमा यसअघि विविध सांस्कृतिक कार्यक्रमसहित समारोह गर्ने गरिएपनि यस पटक भने सिड्नीमा संयुक्त बुद्धजयन्ती समारोह समितिले प्रार्थना दिवसको रुपमा परिणत गरी आइतबार मनाएको छ । कार्यक्रममा लामागुरु रिम्पोछे शेरबहादुर गुरुंगले मन्त्रोच्चारणसहित नेपालमा महाभूकम्पमा परी ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । उहाँले मृतकहरुको आत्माको चीर शान्तिको लागि प्रार्थना गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथि न्यू साउथवेल्सका लागि अवैतनिक महावाणिज्यदूत दिपक खड्का हुनुहुन्थ्यो । यस्तै निन्फाका अध्यक्ष चित्र तुम्बाहाम्फे, एनआरएन सचिव भरत पोखरेल, समाजका अग्रज पदम शाक्य, युग्म गुरुंग लगायत विभिन्न संघ संस्थाका पदाधिकारीहरु कार्यक्रममा सहभागी हुनुभएको तामांग सोसाईटी न्यू साउथवेल्सका अध्यक्ष अरुण तामांगले जानकारी दिनुभयो । वैशाख १२ गते भूकम्प गएकै समयमा अर्थात् विहान ११ बजेर ५६ मिनेटमा नै प्रार्थना गरिएको थियो । यस्तै कार्यक्रमका अन्य आकर्षणहरुमा बुद्ध फोटो प्रदर्शनी, छेलो हान्ने प्रतियोगिता, भलिबल प्रतियोगिता, सेभेन ए साईड बुद्धकप फुटबल प्रतियोगिता आयोजना गरिएको थियो । यस खेलमा विभिन्न २० टोली सहभागी बनेका थिए भने उपाधि फुटबल क्लब डाँफेले जित्न सफल भएको थियो । Buddha2उपाधिमा दोश्रो दाबेदार सेन्टजोर्ज नेप्लीज फुटबल क्लब बन्न सफल भयो । यसैगरी १ सय ८ दिप प्रज्वलन, सञ्चारकर्मी भीमसेन सापकोटाको संयोजनमा विपस्यना ध्यान, बुद्धको जीवनी प्रदर्शनी लगायतका गतिविधि भएको जानकारी तामांगले दिनुभयो । बालबालिकाहरुको निम्ति अन्य मनोरञ्जनात्मक कार्यक्रम पनि गरिएको थियो । विहान ९ बजेबाट सुरु भएको कार्यक्रम अपरान्हसम्म चलेको थियो । कार्यक्रम टेम्पे रिक्रिएसन रिजर्भ, टेम्पे पार्कमा भएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?