बुरुन्डीमा राष्ट्रपति विदेश गएको मौकामा सैनिक कू गरी सत्तापलट गर्नखोज्ने पक्राउ


burundiबुरुन्डीमा सैनिक विद्रोहमा भाग लिने दुई वरिष्ठ सैनिक अधिकारी तथा एक प्रहरी प्रमुखलाई पक्राउ गरिएको राष्ट्रपतिका कार्यालयका प्रवक्ताले शुक्रबार बताएका छन् । यसले राष्ट्रपति पिएरे एनकुरुन्जिजालाई हटाउने सैनिक षडयन्त्र असफल भएको स्पष्ट पारेको छ । प्रवक्ता जरवाइस अबायेहोले सैनिक विद्रोहको प्रयास गर्ने मेजर जनरल गडफ्रायड नियोमबार अझै पनि फरार रहेको र निजको खोजी भइरहेको बताउनुभयो । उहाँले हिरासतमा लिइएका षडयन्त्रकारीको नाम भने बताउनुभएन । अर्का अधिकारीले एनकुरुन्जिजा बुरुन्डीको उत्तरी नगर एनगोजीमा लोकप्रिय हुनुभएको र उहाँबाट एक विज्ञप्ति प्राप्त गर्न सरकारी समाचार समूहलाई त्यहाँ पठाइएको बताए । बिहीबार नियोमबार तथा सरकारप्रति बफादार सेनाबीच बुजुबुरामा सङ्घर्ष भएको थियो । नियोमबारले राष्ट्रपति एनकुरुन्जिजा तान्जानियामा क्षेत्रीय बैठकमा रहेको अवस्थामा उहाँलाई पदमुक्त गरिएको घोषणा गरेका थिए । एनकुरुन्जिजाले राष्ट्रपति पदको तेस्रो कार्यकालका लागि दाबी गरेपछि यस मुलुकमा केही दिन प्रदर्शन भएको थियो । प्रतिपक्षीहरूले यसले संविधान उलङ्घन गरेको र गृहयुद्ध अन्त्य गर्ने शान्ति सम्झौता तोडेको आरोप लगाएका थिए । अप्रिल २६ मा आरम्भ भएको उक्त प्रदर्शनका समयमा १५ व्यक्तिको मृत्यु भएको थियो । बुरुन्डीको राष्ट्रपतिको कार्यालयले बिहीबार प्रदर्शन अन्त्य गर्न प्रयास गरेकोमा प्रहरीलाई धन्यवाद दिएको छ । अमेरिकाले आफ्ना नागरिकलाई बुरुडीबाट बाहिर आउन आग्रह गरेको छ र अन्यलाई बुरुन्डीको भ्रमण नगर्न सल्लाह दिएको छ । बुरुन्डीस्थित अमेरिकी दूतावास शुक्रबार बन्द रहेको छ । बुरुन्डीको संविधानमा राष्ट्रपति दुई कार्यकालका लागि मात्र निर्वाचित हुनसक्ने व्यवस्था गरेको छ । राष्ट्रपति एनकुरुन्जिजाले आफूलाई पहिलो कार्यकालका लागि संसदले निर्वाचित गरेकाले आफू पुनः जनताबाट निर्वाचित हुनपाउने दाबी गर्नुभएको छ । बुरुन्डीमा सन् १९९३ मा गृहयुद्ध भएको थियो र हुटु राष्ट्रपति मेलक्वायर एनदादायको हत्या भएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?