उत्तर कोरियासँग वार्ताको निम्ति उसको उत्तेजक व्यवहार बाधक भएको केरीको दाबी


U.S. Secretary of State Kerry speaks about the Ukraine crisis after his meetings with other foreign ministers in Parisअमेरिकी विदेशमन्त्री जन केरीले उत्तर कोरियासँग वार्ताका लागि संयुक्त राज्य अमेरिका सदैव तयार नै रहेको धारणा राख्नुभएको छ । दक्षिण कोरियाको राजधानी सोलमा आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले सो धारणा राख्नुभएको हो । उहाँले भन्नुभयो– अमेरिका कहिल्यै पनि वार्ताको विरोधी होइन र अहिले पनि हामी उत्तर कोरियासँग वार्ताका लागि तयार छौँ । तर उत्तर कोरियाको नेतृत्वले वार्ताका लागि बलियो र यथार्थ प्रतिबद्धता देखाउनुपर्छ– उहाँले भन्नुभयो । उहाँले तर उत्तर कोरियाका नेताले अमेरिकासँग वार्ताका लागि साँचो अर्थमा र निष्कपट प्रतिबद्धता भने नदेखाएका बताउनुभयो । पछिल्लो समयमा उत्तर कोरियाले देखाएको उत्तेजना तथा उसका क्रियाकलापले शान्ति वार्ताका लागि वातावरण भने बन्ने अवस्था छैन– अमेरिकी विदेशमन्त्री केरीले भन्नुभयो । उत्तर कोरियाले पछिल्लो समयमा विभिन्न शान्तिको पक्षमा नभई उत्तेजक कामहरु गरिरहेको भन्दै उससँग तत्काल नै निशस्त्रीकरणसम्बन्धी वार्ता असम्भवप्रायः रहेको बताउनुभयो । एक हप्तामात्र अघि पनि उत्तर कोरियाले एक पनडुब्बी क्षेप्यास्त्र परीक्षण गरेको थियो । उसको सो कार्यको सबैतिर विरोध भएको थियो । यस क्षेप्यास्त्रले पानीबाट पानीमा हान्नसक्ने एक शक्तिशाली तथा आत्मरक्षाको प्रदर्शन गरेको स्पष्टीकरण उत्तर कोरियाले दिएको थियो । उता संयुक्त राष्ट्रसङ्घले भने उत्तर कोरियालाई क्षेप्यास्त्र निर्माणका लागि आवश्यक प्रविधि नै प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । तर उत्तर कोरियाले सो प्रतिबन्धको बेवास्ता गर्दै बारम्बार यस्ता खालका क्षेप्यास्त्रहरु परीक्षण गर्दै आएको छ । यी घटनाहरुको दक्षिण कोरियाले पनि विरोध गर्ने गरेको छ । अमेरिकी विदेशमन्त्री जन केरी हाल दक्षिण कोरियाको भ्रमणमा हुनुहुन्छ । सो भ्रमणकै क्रममा सोमबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित संयुक्त पत्रकार सम्मेलनका क्रममा उहाँले सो धारणा राख्नुभएको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?