आफ्नी श्रीमतीलाई पिसाब पियाउने यी पति …
विवाह भएको वर्षौं बित्दासमेत दाइजोमा मोटरसाइकल तथा घडेरी नल्याएको भन्दै महोत्तरीको बर्दिवासमा एक जनाले आफ्नै श्रीमतीलाई बारम्बार यातना दिएको घटना सार्वजनिक भएको छ । बर्दिवास नगरपालिकाका ३८ वर्षीया लक्ष्मीनारायण यादवले आफ्नी २६ वर्षीया श्रीमती सुशीलालाई पिसाब खुवाएर यातना दिएको पीडितले स्थानीय सञ्चारकर्मीलाई आज बताउनुभयो । त्यसअघि पनि पशुवत व्यवहार गर्दै पतिले कुटपिट गर्दै करेन्ट लगाएर मार्ने प्रयास गरेको बताउनुभयो । श्रीमान्को कुटाइबाट घाइते भएकी सुशीलाको बर्दिवासस्थित होप अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले सुशीलाका श्रीमान् लक्ष्मीनारायणलाई पक्राउ गरी कारबाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय, बर्दिवासले जनाएको छ । न्यायको याचना गर्दै पीडित सुशीलाले अन्तरपार्टी महिला सञ्जाल बर्दिवासमा उजुरी दिनुभएको छ । सञ्जालले यथाशीघ्र उहाँलाई न्याय दिन आवश्यक प्रयास गर्ने सञ्जालकी अध्यक्ष शारदा थापाले राससलाई बताउनुभयो ।