नयाँ वर्षमा नागरिकका अपेक्षा
देशले सहजै निकास पाउने बाटो पहिल्याउन नेतृत्व अग्रसर हुने मात्रै होइन सफल हुनुपर्छ । गाँठो परेको राजनीतिक अवस्थालाई फुकाएर सबै क्षेत्रको वातावरण स्वच्छ बनाउनुपर्छ । नेतृत्वको सोचाइ र काम गराइमा राष्ट्र र जनताप्रति समर्पण भाव जगाउन सक्नुपर्छ ।
नेपालीहरुको नयाँ वर्ष २०७८ साल सुरु भएको छ । नयाँ वर्षले नयाँ उत्साह र उमंग ल्याउने विश्वास हरेक वर्ष नेपालीहरुले गर्दै आएका छन् । कुनै वर्ष फलिफाप हुने गरेका छन् भने कुनै वर्ष निराशाजनक । कोरोना भाइरसको महामारीले २०७७ साल नेपालीहरुका लागि मात्र नभएर विश्वकै लागि निराशाजनक बन्यो । भर्खरै सुरु भएको नयाँ वर्ष २०७८ सालले नेपालीलाई मात्र होइन विश्वलाई नै उमंग ल्याउने अपेक्षा गरिएको छ । हुन त अहिले नयाँ वर्षको सुरुआती दिन त्यति सहज देखिएका छैनन् । गतवर्षकै जस्तो निराशापूर्ण अवस्थाबाट नयाँ वर्ष सुरु भएको छ । यो वर्षको सुरुआत पनि कोरोना महामारीको सामनाबाटै भएको छ । त्यसमाथि राजनीतिक अस्थिरताको संकेत सुरुबाटै देखिन थालिसकेको छ ।
नयाँ वर्षको सुरुआतमा कोरोना भाइरसको संक्रमण फैलिने क्रम तीव्र बनेको छ । देशभर दैनिक ५ सयभन्दा बढी कोरोनाका संक्रमित पहिचान हुन थालेका छन् । कोरोना परीक्षण दर उल्लेख्य बढ्न नसकेको भए पनि संक्रमितहरुको संख्या बढ्दै गएको हो । अहिले दैनिक ३ देखि ५ हजार जनाको पीसीआर परीक्षण गरिँदा ५ सयको हारामारीमा संक्रमित भेटिनु डरलाग्दो अवस्था हो । कोरोना संक्रमण बढ्नुको मुख्य कारण नयाँ भेरियन्ट भएको चिकित्सकहरु बताउँछन् । खासगरी नेपालमा बेलायती भेरियन्टको भाइरसले जोखिम बढाएको छ । त्यसमाथि डबल म्युटेन्टको भेरियन्टसमेत देखिएपछि नेपालीमा त्रास बढेको छ । त्रास बढ्नु स्वभाविक पनि हो । वर्षको शुरुआतमै डबल म्युटेन्टको भेरियन्ट फेला पर्दा यसले वर्षभरी नै प्रभाव पार्ने आशंका छ । विज्ञहरुलेसमेत डबल म्युटेन्टको भेरियन्ट खतरनाक हुने र संक्रमण तीव्र गतिमा फैलिने बताइसकेका छन् ।
कोरोनाका नयाँ नयाँ भेरियन्ट फैलिन थालेपछि सरकारले विद्यालय नजान आग्रह गरेको छ । लामो समयको बन्दपछि खुलेका विद्यालयहरु पुनः बन्द हुन थालेका छन् । बालबालिकाहरुमा त्रास बढेको छ । मानिसहरुको दिनचर्या अस्तव्यस्त हुन थालेको छ । लामो समयको धैर्यतापछि भर्खरै पारिवारिक भेटघाट र जमघट गर्न थालेकाहरु निराश बनेका छन् । संक्रमण कहिलेसम्म जारी रहन्छ भन्नेमा कुनै एकिन छैन । कोरोनाविरुद्धको खोप पाउन मुस्किल छ । खोप ल्याउने प्रतिबद्धता जनाउँदै आएको सरकार अलमलमा परेको छ । भारतसँग खरिद गरिएको १० लाख डोज खोप आउन सकेको छैन । खोपको प्रतिक्षा गरेर बसेका नागरिक सुस्ताउन थालेका छन् । वर्षको सुरुआतमै नागरिकहरुमा निराशाको कालो बादल मडारिएको छ ।
नागरिकको जीवन जोगाउनुलाई नै आफ्नो प्रमुख प्राथमिकता रहेको बताउने गरेको सरकारले कोरोना संक्रमण फैलिन नदिन ठोस र प्रभावकारी काम गर्न सकेको छैन । भारतसँगका सिमा नाका खुलै छन् । नाकाहरुमा एन्टिजेन परीक्षण गरेर मात्र स्वदेश फर्कन दिने सरकारको नीति कार्यान्वयन हुन सकेको छैन । एन्टिजेन किटको अभाव देखाउँदै स्थानीय प्रशासनहरुले सबैको परीक्षण गर्न सकेका छैनन् । राखिएका हेल्थ डेस्कमा कहिले कर्मचारी हुँदैनन् त कहिले परीक्षण गर्ने उपकरण कै अभाव हुन्छ । खुला सिमाना भएकाले मानिसहरुको आवतजावत रोकिएको छैन । जनस्वास्थ्यका मापदण्डको पालना हुन सकेको छैन । मानिसहरुमा डर र त्रास व्याप्त छ । त्रासकै बीच पनि आफ्नो जिवन निर्वाह गर्न भीडभाडमा सहभागी हुनुपर्ने बाध्यता उनीहरुको छ । नयाँ वर्षको सुरुआतमै देखिएको यो अवस्थाले चरम निराशा सिर्जना गर्दै गएको छ ।
कोरोनाको महामारीकै बीच पनि गत वर्ष मुलुकमा केही परिवर्तनहरु भएका थिए । नागरिकले प्रत्यक्ष रुपमा अनुभव गरेको सबैभन्दा ठूलो उपलब्धी मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौंमा वितरण सुरु हुनु हो । भूकम्पबाट ध्वस्त भएका सम्पदाहरुको पुनर्निर्माणको काम निकै अघि बढेको छ । रानीपोखरी, दरबार हाइस्कुललगायतका संरचनाहरुको पुनर्निर्माण सकिएको छ । योसँगै पूर्वाधार निर्माणका क्षेत्रमा पनि केही उल्लेखनीय काम भएका छन् । १ सय ६५ वटै निर्वाचन क्षेत्रमा एकै साथ सडक बनाउन सुरु भएको छ । त्यो बाहेक २ सय १० वटा सडकसमेत एकै पटक शिलान्यास गरिएको छ । ३ सयभन्दा बढी पालिकाहरुमा एकै साथ स्वास्थ्य संस्थाको भवनसमेत एकै साथ शिलान्यास गरिएको छ । पूर्वाधार निर्माणका क्षेत्रमा भएका यी कामले नागरिकमा सकारात्मक भाव वृद्धि भएको छ ।
यो वर्षको सुरुआतमै कोरोनाको नयाँ भेरियन्टसँगै राजनीतिक उचारचढाव सुरु भएको छ । संघीय सरकार स्थिर बन्न सकेको छैन । राजनीतिक जोडघटाउ तीव्र बन्दै गएको छ । संघीय सरकार परिवर्तनको खेल अघि बढेको छ । सत्ता टिकाउने र ढलाउने प्रयास जारी छ । प्रदेश सरकारहरुको स्थायित्वमा प्रश्न चिह्न उठेको छ । प्रदेशहरुमा धमाधम समर्थन फिर्ता लिने, अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रवृत्ति बढेको छ । सत्तारुढ दलभित्रको असन्तुष्टि तल्लो तहमा पुगेको छ । नेताहरुको भाषण गर्ने शैली बदलिएको छैन । आरोप प्रत्यारोपबाहेक नागरिकलाई सुखी र मुलुकलाई समृद्ध बनाउने प्रयास कुनै पनि दलका नेताले गरेको देखिँदैन । आफ्नो स्वार्थपूर्ति गर्न तल्लिन नेताहरुको हाउभाउ देखेर वर्षको सुरुआतै नागरिकहरुमा निराशा देखिएको छ ।
समग्रमा २०७७ साल राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक र स्वास्थ्यका दृष्टिले मुलुकका लागि फलदायी हुन सकेन । राजनीतिक खिचातानीका कारण जनताका पीडा जस्ताको जस्तै रहे । सुधारका राम्रा संकेतहरुसमेत फेला परेनन् । तर पनि नयाँ वर्ष २०७८ मा केही आशा र अपेक्षा जगाउन सक्नुपर्छ । त्यसका लागि राजनीतिक नेतृत्वको भूमिका नै महत्वपूर्ण हुन्छ । देशले सहजै निकास पाउने बाटो पहिल्याउन नेतृत्व अग्रसर हुने मात्रै होइन सफल हुनुपर्छ । गाँठो परेको राजनीतिक अवस्थालाई फुकाएर सबै क्षेत्रको वातावरण स्वच्छ बनाउनुपर्छ । नेतृत्वको सोचाइ र काम गराइमा राष्ट्र र जनताप्रति समर्पण भाव जगाउन सक्नुपर्छ । मुलुकमा शान्ति, स्थिरता, सुशासन एवम् समृद्धिका साथै विद्यमान जटिल परिस्थिति सुधारोन्मुख हुने जनताको आशामा तुषारापात हुन दिन हुँदैन । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले परिकल्पना गरेका सपनाहरु सकार पार्ने दिशामा अग्रसर हुनुपर्छ ।
कोरोनाले थला परेको अर्थतन्त्रलाई माथि उकास्न नयाँ–नयाँ कार्यक्रम अघि बढाउनुपर्छ । जनजीवनलाई सहज बनाउन र रोजगारीका अवसरहरु सिर्जना गर्ने काममा सरकार क्रियाशील हुनुपर्छ । सामाजिक र शैक्षिक क्षेत्रको पुनरुत्थानसँगै समृद्धिको गतिलाई अघि बढाउन राष्ट्रिय सहमति निर्माण गर्नुपर्छ । मुलुकलाई आत्मनिर्भर बनाउन सबै शक्तिबीच हातेमालो गर्नुको विकल्प छैन भन्ने भाव नेतृत्वमा जागृत हुनुपर्छ । सरकारले सबै नागरिकलाई समान व्यवहार गर्नुपर्छ । कोरोना संक्रमण नियन्त्रण गर्न भएका प्रयासलाई अझ बढावा दिनुपर्छ भने महामारीका बेला राजनीतिक खिचातानीमा अल्मलिएर जनतामा निराशा भावना आउन दिनु हुँदैन । यसका लागि राजनीतिक दलहरुले संकल्प गर्ने मात्र होइन, इमान्दार भएर आफ्नो भूमिका प्रदर्शन गर्नुपर्छ । नेतृत्वको संकल्प र इमान्दारिता भएमा नयाँ वर्षले नेपालीहरुलाई केही खुसी दिने प्रष्ट छ ।
गतवर्ष कोरोना भाइरसको महामारीले थलिएका क्षेत्रको पुनरुत्थान हुने कार्यक्रमहरु अघि बढाउनुपर्छ । लामो समयको लकडाउनले थला परेका पर्यटन, होटल, शैक्षिक एवम् स्वास्थ्य क्षेत्रलाई अघि बढाउन स्पष्ट नीतिको खाँचो देखिएको छ । सरकारले नीति बनाएर त्यसको पूर्ण कार्यान्वयन गर्नुपर्छ । बेरोजगार युवाहरुलाई रोजगारीका उपयुक्त अवसरहरु सिर्जना गर्नुपर्छ । यसअघि सुरु गरिएका परियोजनाको कामलाई तिव्रता दिएर समयमै सम्पन्न गर्नुपर्छ भने सम्पन्न हुने चरणमा पुगेका आयोजनाहरुको काम तत्काल सम्पन्न गराउनुपर्छ । राष्ट्रिय गौरवका आयोजनाहरुको काम मात्र सम्पन्न गर्ने हो भने मुलुकको समृद्धिमा ठूलो टेवा पुग्ने छ । तर अहिले पनि कोरोनाको जोखिम र महामारी देखाएर काममा ढिलाइ गर्दै जाने र आयोजनाहरु सुरु मात्र गर्ने तर काम अघि नबढाउने हो भने जनतामा निराशाबाहेक केही बाँकी हुने छैन । नागरिकलाई सुरक्षित बनाउन कोरोनाविरुद्धको खोपको आपूर्ति सुनिश्चित गरी सबै नागरिकलाई सर्वसुलभ उपलब्ध गराउने व्यवस्था गर्नुपर्छ । यति गर्न सके समग्रमा नयाँ वर्षले सबैमा उत्साह सिर्जना गर्ने मात्र होइन, मुलुकका लागि केही नयाँपन दिन सकिने छ ।।