दक्षिणी चीन जलक्षेत्रका विवादमा शान्तिपूर्ण समाधान प्राप्त गर्न महासचिव बानको आग्रह
संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि–मुनले शुक्रबार दक्षिणी चीन जल क्षेत्रका क्षेत्रीय विवादका विषयमा शान्तिपूर्ण समाधान प्राप्त गर्न शुक्रबार आग्रह गर्नुभएको छ । यस क्षेत्रमा चीनको बढ्दो अग्रताका कारण उसका साना छिमेकी चिन्तित बनेका छन् । हनोइमा महासचिव बानले भियतनामी राष्ट्रपति ट्रुवङ टान साङसँग क्षेत्रीय तनावका साथै सुरक्षा चासोका विषयमा छलफल भएको बताउनुभयो । उहाँले आफूले सम्बन्धित सबै पक्षलाई उनीहरूको विवाद अन्तर्राष्ट्रिय कानुनसँग मिल्दो रूपमा वार्ताद्वारा समाधान गर्न आग्रह गरेको बताउनुभयो । उहाँले तनाव उत्पन्न गराउने तथा उत्तेजित गर्ने कार्य हुननदिनु महत्वपूर्ण भएको बताउनुभयो । राष्ट्रपति साङले एक संयुक्त पत्रकार सम्मेलनमा आफूले महासचिव बान तथा संयुक्त राष्ट्र सङ्घलाई यी विवादमा शान्तिपूर्ण समाधान प्राप्त गर्न सक्रिय योगदान दिन आग्रह गरेको बताउनुभयो । चीनले व्यापक भूमि दाबीका माध्यमबाट यस क्षेत्रमा नयाँ कृत्रिम द्वीप सिर्जना गरिरहेको बताइएको छ भने फिलिपिन्सका साथमा भियतनामले यस कार्यको आलोचना गरेका छन् । यस क्षेत्रका भूमि दाबी गर्ने मुलुकमा मलेसिया, ब्रुनाइ तथा ताइवान पनि परेका छन् । महासचिव बानले भियतनामले संयुक्त राष्ट्र सङ्घमा महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो ।