चीनको युआन कम मूल्याङ्कन नभएको अन्तर्राष्ट्रिय मुद्रा कोषका अधिकारीको भनाइ


rmbचीनको निकै कडा नियन्त्रित मुद्रा कम मूल्याङ्कन भएको अन्तर्राष्ट्रिय मुद्रा कोषले हाल विश्वास नगरेको एक अधिकारीले मङ्गलबार बताएका छन् । यस धारणाबाट बेइजिङलाई उसको सटही दर नियन्त्रित छैन भनी वासिङ्टनसँग मोलमोलाई गर्न सहयोग पुग्ने अनुमान गरिएको छ । आईएमएफका प्रथम उप व्यवस्थापन निर्देशक डेविड लिप्टनले बेइजिङले आउँदो दुईदेखि तीन वर्षसम्म आफ्नो सटही दर परिवर्तन हुने अवस्था राख्नु उचित हुने बताउनुभयो । चीनले आफ्नो मुद्रा युआनको मूल्य दबाएको भनी अमेरिकाले निकै अघिदेखि आरोप लगाउने गरेको थियो । यसका कारण चीनले मूल्यको अनुचित फाइदा प्राप्त गरेको र विदेशी प्रतिस्पर्धीलाई नोक्सान हुने गरेको आरोप लगाउने गरिन्थ्यो । आईएमएफले पनि युआनलाई कम मूल्याङ्कन गरिएको ठान्ने गरेको थियो । यसका कारण कोष तथा बेइजिङबीच तनाव उत्पन्न हुने गरेको थियो । लिप्टनले हालै विश्वव्यापी सटही दरमा परिवर्तनका कारण चिनियाँ युआन कम मल्याङ्कन भएको आफूहरूले विश्वास नगरेको बताउनुभयो । चिनियाँ उपप्रधानमन्त्री मा काइ, केन्द्रीय बैङ्कका गभर्नर झोउ सियाओचुआन, चीनको सुरक्षण नियमक संस्थाका प्रमुख तथा अन्य अधिकारीसँग लिप्टनले वार्ता गरेपछि उक्त कुरा बताउनुभएको हो । वासिङटनमा केन्द्रीय कार्यालय रहेको आईएमएफले यस वर्ष चीनको आर्थिक वृद्धि ६.८ प्रतिशत हुने अनुमान गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीले पनि सात प्रतिशत वृद्धि हुने अनुमान गरेको छ र यी दुई अनुमान नजिकमा रहेको देखिएको छ । चिनियाँ कम्युनिस्ट पार्टीले व्यापार तथा लगानीमा भर पर्न छोडी घरेलु उपभोगमा जोड दिन थालेपछि गत तीन वर्षमा चनीको आर्थिक वृद्धि कम भएको देखिएको छ । अनपेक्षित रूपमा चीनको उत्पादन घट्न थाल्दा नोकरी गुम्ने त्रास राजनीतिमा देखा परेको थियो र यो राजनीतिक रूपमा निकै खतराको अवस्था मानिन्छ । आर्थिक वृद्धि बढाउन बेइजिङले नोभेम्बरदेखि ब्याजदर तीनपटक घटाएको छ । यसका लागि सरकारी बैङ्कहरूलाई स्थानीय सरकारले सञ्चालन गरेको संस्थामा लगानी बढाउन भनिएको छ । लिप्टनले आर्थिक वृद्धि सात प्रतिशतभन्दा बढी भएमा बेइजिङले द्रूत रूपमा बढिरहेको ऋणलाई नियन्त्रण गरी वित्तीय जोखिम कम गर्नसक्ने बताउनुभयो । उहाँले बृद्धि ६.५ प्रतिशतभन्दा कम भएमा सरकारले खर्चमा वृद्धि गर्ने विषयमा विचार गर्नुपर्ने बताउनुभयो । उहाँले आफूले अधिकारीहरूलाई सटही दरलाई अधिक लचकता दिन द्रुत रूपमा प्रगति गर्न आग्रह गर्नुभयो । उहाँले चीनले आउँदो दुई वा तीन वर्षमा प्रभावकारी परिवर्तित सटही दर प्राप्त गर्नुपर्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?