बढ्दो गर्मीले भारतमा ११ सय भन्दा बढीको मृत्यु, ४८ डिग्री तापक्रम


iniaभारतमा बढ्दो तापक्रमका कारण विषेशगरी भारतको दुईवटा सहरमा तातो हावा अर्थात् लुबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ११ सयभन्दा बढी पुगेको अधिकारीहरूले जानकारी दिएका छन् । दक्षिण भारत प्रचण्ड गर्मीले बलेको र सो प्रकोपमा परी मारिनेहरूमा विशेषगरी निमार्णाधीन काममा लागेका कामदार, वृद्ध र घरबारविहीन व्यक्ति परेका जनाइएको छ । लुका कारण अत्यन्त प्रभावित सहर आन्ध्रप्रदेशमा गत मे १८ देखि हालसम्म ९०० भन्दा बढी व्यक्ति मारिएका छन् । सो सङ्ख्या गत वर्षको यसै मौसममा लुबाट मारिएको सङ्ख्याको तुलनामा दुगुना भएको अधिकारीहरूले जानकारी दिएका छन् । त्यसैगरी आन्ध्र प्रदेशको छिमेकमा पर्ने तेलङ्गाना राज्यको तापक्रम ४८ डिग्री पुगेको र यसबाट २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाइएको छ । ती राज्यमा मारिएका व्यक्तिको तथ्याङ्क अझै सङ्कलन भइरहेको हुनाले अधिकारीहरूले सो सङ्ख्या बढ्न सक्ने बताएका छन् । ती सहरहरूमा तापक्रम ५० डिग्रीसम्म पुगेको गत सोमबार प्राप्त एक समाचारमा जनाइएको थियो । विगत केही दिनदेखि ती सहरमा यस्तो हावा चलेको थियो । नयाँ दिल्लीस्थित मौसमविद्हरूका अनुसार हाल भारतको अधिकतम स्थानमा जारी रहेको उच्च तापक्रम आगामी हप्तासम्म रहनसक्ने खतरा रहेको आशङ्का गरेका छन् । भारतको राजधानी दिल्लीलगायत हालका दिनहरूमा भारतको ठूलो भागमा लुले प्रभावित बनाएको छ । केही दिनअघिबाट सुरु भएको तातो हावाको अवस्था पछिल्ला केही दिनयता आएर भने दक्षिणी क्षेत्रहरू तेलङ्गना र छिमेकमा पर्ने आन्ध्र प्रदेशमा सर्दै गएको बताइएको छ । पछिल्ला दिनमा तेलङ्गना र आन्ध्र प्रदेशमा तापक्रम अनायास बढ्न थालेको बताइएको छ । यसका कारण सर्वसाधारणमा निकै ठूलो असर पर्ने भन्दै बिजुली आपूर्तिमा कुनै कठिनाइ उत्पन्न नगर्न सरकारलाई आग्रह गरिएको छ । आन्ध्र प्रदेशमा त्यहाँका मजदुर एवम् कामदारहरूलाई धेरै लामो समयसम्म दिउँसोको घाममा काम नगर्न आग्रह गरिएको छ । कतिपय मारिनेमा मजदुरहरू नै रहेका छन् । उनीहरू लामो समयसम्म दिउँसोको कडा घाममा काम गरेकाले प्रभावित भएको पनि समाचारमा जनाइएको छ । स्वास्थ्य अधिकारीहरूले दिउँसको घाममा सकेसम्म यात्रा नगर्न, छाता ओढेर हिँड्न, पानी प्रशस्तमात्रामा पिउन र चिसो खाद्य पदार्थको सेवन गर्न सुझाव दिएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?