एक्सपर्ट ग्रुप नेप्लीज अष्ट्रेलियन वेलफेयर सोसाईटी कप फुटबल २०१५ सुरु


1आइतबारबाट नेप्लीज अष्ट्रेलियन वेलफेयर सोसाईटीको आयोजनामा फुटबल प्रतियोगिता सिड्नीमा सुरु भएको छ । १६ वटा टिमले भाग लिने यस प्रतियोगिताको पहिलो साताको तीन खेलहरु आइतबार नै सम्पन्न भएका छन् । उद्घाटन कार्यक्रमको प्रमुख अतिथि एनआरएनका ओसियाना क्षेत्रीय संयोजक विष्णु हमाल हुनुहुन्थ्यो । संस्थाका अध्यक्ष सञ्जीव शर्माले प्रतियोगिताले नेपाली समूदायका खेलाडीहरुमा खेल र स्वास्थ्यप्रति चेतना ल्याउने साथै, नेपालमा भूकम्प पीडितको सहयोगमा पनि प्रतियोगिता अवधिभर विविध कार्यक्रम गरिने जानकारी दिनुभयो । खेलको कमिश्नर राजु मानन्धर तोकिनुभएको छ भने अरुण तामांगले प्रतियोगिताको संयोजन गर्नुहुनेछ । खेलमा सहभागी टीमहरुमा बिग्रेड ब्योएज, वेस्ट युनाइटेड, हस्र्टभिल फुटबल क्लब, क्लब नेपाल, हिमालयन क्लब, डाँफे फुटबल क्लब, दी राइजिङ गोरखा, माछापुच्छ्रे, टीआरसीसी, ग्य्रायान्भिल राइनो, सेन्ट जर्ज फेन्डस्, रक्डेल ड्रगन, लालीगुराँस क्लब, नेप्लीज सेन्ट जर्ज क्लब, सगरमाथा फुटबल क्लब र बज्रयोगीनी फुटबल क्लब रहेका छन् । प्रतियोगिता तीन महिनासम्म सञ्चालन हुनेछ । 3पहिलो चरणमा सबै क्लबले तीनवटा खेल खेल्नेछन् भने यसपछि नकआउट चरण सुरु हुनेछ । प्रत्येक आइतवार लिडकम स्थित वाइड पार्कमा विहान ११ बजेदेखि खेलहरु हुनेछन् । फाइनल खेल अगस्त ३० तारिख आइतवारका दिन हुनेछ । प्रतियोगिताको उपाधि जित्ने टिमलाई क्रमशः प्रथमलाई एक हजार डलर, द्वितिय टीमलाई पाँच सय र तृतीय टीमलाई तीन सय डलर सहित शिल्ड तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

पहिलो साता
प्रतियोगिताको उद्घाटन खेलमा वेष्ट युनाईटेडले ब्रिगेड ब्वाईजलाई शून्यका विरुद्ध ६ गोल अन्तरले पराजित गर्न सफल भएको छ । खेलमा अनिल गुरुंगले ह्याट्रिक गरेका थिए भने २ गोल पारस थापा र एक गोल अनिल थापामगरले गर्न सफल भएका थिए । यस्तै दोश्रो खेलमा हर्सटभिलको सिम्रिक क्लबले ३ गोल अन्तरले क्लब नेपाललाई पराजित गरेको छ । जसमा २ गोल आशिष श्रेष्ठले गरेका थिए भने एक गोल अभिन्ना श्रेष्ठले गरे । तेश्रो खेल एचवाईसी र ओएसीस फुटबल क्लब डाँफेबीच बराबरीमा टुंगिएको छ । दुबै टिमले दुई दुई गोल गरेका थिए । अर्को साता आइतबार पनि तीन खेल हुनेछन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?