एमालेको भूकम्प राहत कोषमा २ करोड संकलन
नेकपा (एमाले)को प्राकृतिक विपत्ति राहत कोषमा प्रवासी नेपाली मञ्च संयुक्त राज्य अमेरिकाले १८ हजार ५०० अमेरिकी डलर (करिब १८ लाख ५० हजार नेपाली रुपियाँ) प्रदान गरेको छ । भूकम्पका कारण उत्पन्न भएको विपत्मा सहयोग गर्ने उद्देश्यले सो मञ्चका लागि पार्टी इन्चार्ज युवराज कार्की र मञ्चका अध्यक्ष कुन्ती थापाले आज पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सो रकम प्रदान ग¥यो । त्यसैगरी नेपाल निर्माण व्यवसायी महासङ्घले रु दुई लाख र एमाले जाजरकोट जिल्ला कमिटीले रु ३३ हजार सोही कोषमा सहयोग उपलब्ध गराएको छ । महासङ्घका तर्फबाट अध्यक्ष शरद् गौचन, उपमहासचिव विष्णु बुढाथोकी र सदस्य सरस्वती कार्की तथा कमिटिका तर्फबाट अध्यक्ष करवीर शाहीले पार्टी अध्यक्ष ओलीलाई रकम हस्तान्तरण गर्नुभयो । उक्त अवसरमा अध्यक्ष ओलीले भूकम्पले आक्रान्त नेपाली समाजको पुनःजागरण र नवनिर्माणका लागि सो रकमको उपयोग गरिने छ भन्दै भूकम्प आएको लगत्तैदेखि एमालेको पंक्ति उद्धार तथा राहत वितरणमा जुटिरहेको र पार्टीका स्वयंसेवकले महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो ।
फेसबुक पेज पनि
पार्टीले जारी राखेको पुनःनिर्माणका अभियानको प्रचारप्रसारका लागि ‘एमाले स्वयंसेवक अभियान’ नामक फेसबुक पेज आजदेखि आधिकारिक रुपमा सञ्चालन गरेको केन्द्रीय प्रचार समिति प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । पार्टी केन्द्रीय कार्यालय सचिव एवं केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठका अनुसार एमालेको सो कोषमा अहिलेसम्म करिब रु दुई करोड सङ्कलन भएको छ ।
राष्ट्रिय सरकार आवश्यक
नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले सबै दलको सहमतिमा संविधान बनाएर र विपत् व्यवस्थापन गर्न राष्ट्रिय सहमतिको सरकारको प्रस्ताव गरिएको बताउनुभएको छ । भूकम्पपीडितको राहत र पुनःनिर्माणमा जारी पार्टीको राष्ट्रिय स्वयम्सेवक परिचालन अभियानका सम्बन्धमा आज पार्टी कार्यालयमा आयोजित पत्रकारसम्मेलनमा उहाँले एमालेको ध्यान सरकारमा नभई, शान्ति, लोकतन्त्र, सामाजिक एकता र समृद्धितर्फ केन्द्रित रहेको स्पष्ट गर्नुभयो । साथै उहाँले त्यसका लागि आवश्यक पर्ने सबै काम गर्न नेकपा एमाले तयार रहेको बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, “अहिले प्रधानमन्त्री बन्न वा पद छाड्न लोभ गर्नु हुँदैन, राष्ट्रिय एकता र नवनिर्माणका लागि सबै तयार हुनुपर्छ ।” उहाँले अभियानलाई राष्ट्र निर्माणको आकाङ्क्षासँग जोडेर लैजानुपर्नेमा जोड दिँदै परोपकारको भावनाले काम गर्नुपर्ने समयमा केही तत्वले विपत्तिलाई कमाउने मौकाका रुपमा प्रयोग गरेकामा आपत्ति जनाउनुभयो । “त्यस्ता अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार गम्भीर हुनुपर्छ”, उहाँले भन्नुभयो । जनता जटिल परिस्थितिमा रहेका बेला दोष ढाकछोप र राहत सामग्री दुरुपयोग गर्र्नु असह्य भएको बताउँदै उहाँले नुवाकोटका जनताले त्यसको जवाफ दिइसकेका उल्लेख गर्दै भन्नुभयो, “स्वार्थी र जनविरोधी सोच र प्रवृत्ति त्यागेर सेवा भावका साथ काम गर्नबाट चुक्नु हुँदैन ।” उहाँले देश÷विदेशबाट सहयोग भइरहेको र सरकारको कोषको सदुपयोग हुँदैन भन्ने हल्ला चलाइएका बेला त्यस्ता अवगालबाट नेकपा (एमाले) जोगिनुपर्ने बताउनुभयो । अध्यक्ष ओलीले आफूसँगै रहनुभएका उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमको राहत समाग्री र कोषको रकम दुरुपयोग भएका समाचार विवरणप्रति ध्यानाकर्षण पनि गराउनुभयो । अध्यक्ष ओलीले एमालेको अभियानमा खटिएका स्वयम्सेवकको प्रशंसा गर्दै अप्ठ्यारो परिस्थितिमा हाँसीखुसी काम गरेको, जनतालाई पीरमर्कामा नपारी निःस्वार्थ भावले काम गर्नुपर्ने आवश्यकता दोहो¥याउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो – “एमालेलेझैँ अरुले गर्न सक्दैनन् तर एउटै घर वा विद्यालय बनाउनेलाई पनि धन्यवाद छ । अरुले गरेका असल कामको पनि प्रशंसा गर्नुपर्छ ।” एमालेले यही जेठ १० गतेदेखि भूकम्पप्रभावित २५ जिल्लाका ५५ निर्वाचन क्षेत्रमा १० हजार नेता कार्यकर्ता परिचालन गरी स्वयम्सेवा अभियान सञ्चालन गरेको छ । पार्टीका वरिष्ठ नेता झलनाथ खनालले एमाले सबै शक्ति एकताबद्ध भएर विपत् व्यवस्थापनको काममा दृढतापूर्वक लाग्ने र त्यसलाई प्रभावकारी बनाउने सन्दर्भमा राष्ट्रिय सहमतिको सरकार गठनको बहस पनि सतहमा आएको बताउनुभयो । उपप्रधानमन्त्री तथा पार्टीका उपाध्यक्ष गौतमले दुईतिहाइभन्दा बढी सभासद्को समर्थन भएको वर्तमान सरकार आफँैमा राष्ट्रिय सरकार भए पनि अन्य पार्टीले विपत्तिका समयमा राष्ट्रिय सहमतिको प्रस्तावका साथ संसद्बाट सङ्कल्प प्रस्ताव पारित गरेको सन्दर्भमा त्यसको कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो । पुनः निर्माण, पुनः स्थापना तथा नवनिर्मााणका निम्ति साझा सङ्कल्प पूरा गर्न चाँडै संविधान जारी गर्ने र राष्ट्रिय सहमतिको सरकार गठन गर्ने निष्कर्षमा प्रमुख दलका शीर्ष नेता पुगेको जानकारी आफूलाई प्राप्त भएको पनि उहाँले बताउनुभयो ।