इरानी पारमाणविक कार्यक्रमको सैनिक समाधान नभएको अमेरिकी राष्ट्रपतिको दाबी


Barack Obamaअमेरिकी राष्ट्रपति बराक ओबामाले सोमबार प्रसारित एक अन्तर्वार्तामा इरानलाई सैनिक कारवाहीले नभई केबल सम्झौताले पारमाणविक हतियार प्राप्त गर्न रोक्नसकिने बताउनुभएको छ । उहाँले उक्त कुरा इजरायली जनतालाई लक्ष्य गरी बताउनुभएको हो । उहाँले आफूले कुनै आशामा नभई तथ्य, प्रमाण तथा विश्लेषणमा आधारित भएर रुजु गर्न सकिने र कडा सम्झौता इरानलाई पारमाणविक हतियार प्राप्त गर्न नदिनसक्ने सबैभन्दा राम्रो उपाय भएको सोचेको र प्रदर्शन गर्नसक्ने बताउनुभयो । इरानसँग जुनको अन्त्यसम्म सम्झौता गर्नुपर्ने अवधि निकै छिटो सम्पन्न हुनलाग्दा अमेरिकी राष्ट्रपति ओबामाले उक्त कुरा बताउनुभएको हो । उहाँले सैनिक समाधानले यो समस्या अन्त्य गर्न नसक्ने बताउनुभयो । उहाँले अमेरिकाले सैनिक समाधानमा भाग लिए पनि त्यसले इरानको पारमाणविक कार्यक्रमलाई अस्थायी रूपमा ढिलो बनाए पनि अन्त्य गर्न नसक्ने बताउनुभयो । उहाँले उक्त कुरा इजरायली च्यानल २ टीभीको अनुसन्धानात्मक कार्यक्रम उभ्दामा बताउनुभएको हो । इजरायलले इरानसँग पारमाणविक कार्यक्रमका विषयमा सम्झौता नराम्रो सम्झौता हुने र इरानलाई पारमाणविक बम प्राप्त गर्न नदिन सैनिक विकल्प टेबुलमा रहेको दाबी गरेको छ । इरानका विषयमा अमेरिकी राष्ट्रपति बराक ओबामा तथा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच सम्बन्ध तनावपूर्ण रहेको छ । परम्परागत नजिकको सम्बन्ध रहेको दुई मुलुकबीच इरान विवादको विषय बनेको छ । प्रस्तावित सम्झौता अनुसार इरानको पारमाणविक कार्यक्रम एक दशकका लागि रोक्का हुनेछ र यसका लागि इरानमाथि लागेको प्रतिबन्ध हटाइनेछ । इरानले आफ्नो पारमाणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि भएको दाबी गरेको छ । पश्चिमी मुलुकले यस कार्यक्रमबाट इरानले पारमाणविक हतियार निर्माण गर्ने आशङ्का गरेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?