एनआरएन अष्ट्रेलिया नेतृत्वका लागि उम्मेद्वारी दर्ता खुल्ला
एनआरएन अष्ट्रेलियामा यतिबेला चुनावी सरगर्मी तिव्र भएको छ । अष्ट्रेलियाका विभिन्न राज्यसमिति र राष्ट्रिय समन्वय परिषद्को निम्ति एनआरएन अष्ट्रेलियाले उम्मेद्वारी दर्ता तथा दाबी विरोधको कार्यतालिका सार्वजनिक गरेको छ । तालिका अनुसार गत जुन ३ तारिखका दिन सदस्यहरुको अन्तिम नामावली प्रकाशन गरिसकिएको छ भने आज बिहीबारबाट उम्मेद्वारीका निम्ति आवेदन खुला गरिएको छ । यो जुन ९ तारिख साँझ ५ बजेसम्म रहनेछ । त्यसपछि प्राप्त हुने निवेदनउपर कुनै कारवाही हुनेछैन । यसैगरी प्राप्त भएका उम्मेद्वारी मध्येबाट ११ तारिखका दिन उम्मेदवारहरुको सूचि सार्वजनिक गरिनेछ । जसमा १५ तारिखसम्म कुनै दाबी विरोध छ भने त्यसलाई प्रस्तुत गर्न पाइनेछ । यसपछि उम्मेदवारको अन्तिम नामावली १७ जूनमा प्रकाशित भएपछि चुनावी कार्यक्रम औपचारिक रुपमा प्रतिस्पर्धामा प्रवेश गर्नेछ । तालिका अनुसार यदि यसपछि पनि कसैले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहेमा २२ तारिखसम्मको समयावधि प्रदान गरिएको छ । यो समय मुख्यतः सहमतिका आधारमा नेतृत्व निर्माणको निम्ति कोशेढुंगा सावित हुने गर्दछ । यसपछि बाँकी रहेका उम्मेदवारहरुको नामावली जून २४ तारिखका दिन प्रकाशित गरिनेछ । यसलगत्तै ४ जुलाईमा मतदानको मिति तय गरिएको छ र विहान ८ बजेदेखि साँझ ६ बजेसम्म ईलेक्ट्रोनिक भोटिंगको माध्यमबाट मतदान गर्न पाइनेछ । उम्मेदवारीको अनौपचारिक घोषणा गर्नेको सूचि यतिबेला लामै छ । तर, उम्मेदवारी दर्तापछि मात्रै यसको विषयमा चर्चा गर्न उपयुक्त होला । मुख्यतः एनआरएन अष्ट्रेलियाको यस पटकको निर्वाचनबाट राष्ट्रिय तहमा ५ जना आईसीसी सदस्य अष्ट्रेलियाले चुनेर पठाउन सक्नेछ । त्यस्तै अध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष, युवा संयोजकसहित २१ सदस्यीय राष्ट्रिय परिषद् हुनेछ । नारी निकुञ्जतर्फ संयोजकसहित उपसंयोजक, सचिव, कोषाध्यक्ष र ९ सदस्य रहन पाउनेछन् । राज्यसमितिको तर्फबाट राष्ट्रिय समितिमा राज्यसमिति संयोजक, उपसंयोजक, सचिव, कोषाध्यक्ष र सदस्यहरु रहनेछन् । जसको संयोजक स्वतः राष्ट्रिय समितिको उपाध्यक्ष हुने गर्दछ ।