नेपालको सहयोगका लागि एडिलेडमा च्यारिटी डिनर आयोजना हुँदै
अष्ट्रेलियाका विभिन्न शहरमा नेपालको भूकम्प पीडितको सहयोगका लागि विविध कार्यक्रम हुने क्रम जारी छ । यसैक्रममा साउथ अष्ट्रेलियाको एडिलेडमा आगामी शुक्रबार जून १२ तारिखका दिन कार्यक्रम हुन लागेको हो । स्थानीय लात्भीयन हल, ४ क्लार्क स्ट्रीटमा आयोजना गरिएको कार्यक्रमबाट संकलित रकम नेपालको भूकम्प पीडितको व्यवस्थापनको निम्ति खर्च गर्ने योजना रहेको संयोजक सर्वदा घिमिरेले जानकारी गराउनुभयो । कार्यक्रमको उपसंयोजक प्रतिष्ठा गौतम हुनुहुन्छ भने सदस्यहरुमा अशोक केसी, गोविन्द राना, कपिल पाण्डे, चेवन अधिकारी, दीपक लामा र सुयोग सिंह हुनुहुन्छ । एडिलेड नेपाली समाज र मल्टीकल्चरल कम्युनिटी काउन्सिल साउथ अष्ट्रेलियाको संयुक्त आयोजनामा भएको कार्यक्रमको प्रमुख अतिथि बहुसंस्कृति सम्बन्ध मन्त्री जोयी बेट्टीसन रहनुभएको छ । पछिल्लो समयमा नेपाली समूदायको सहयोगमा सरकारी निकायको समेत संलग्नतामा नेपालको भूकम्प पीडितको सहयोगका लागि यस्ता कार्यक्रमहरु हुन थालेका छन् । केही समय अघि सिड्नीमा सांसदहरुको पहलमा संसदभवनमै पनि सहयोग संकलन च्यारिटी डिनर आयोजना गरिएको थियो ।