विश्वको पहिलो अनुभव गर्न सकिने कृत्रिम खुट्टाका कारण अङ्ग गुमाउनेमा आशाको नयाँ सञ्चार


legप्राकृतिक अङ्गको अनुभव दिने तथा पीडाको त्रासबाट जोगाउने विश्वको पहिलो कृक्रिम खुट्टा भियनामा अनुसन्धाकर्ताहरूले सार्वजनिक गरेका छन् । यो नौलो खोज अस्ट्रियाको उत्तरी भागमा अवस्थित लिन्ज विश्वविद्यालयका प्राध्यापक ह्युबर्ट इगरले दुई तहको प्रक्रियामा विकास गर्नुभएको हो । पहिलो प्रक्रियामा शल्यचिकित्सकहरूले विरामीको काटिएको तिघ्राका किनारामा स्वस्थ्य र बाँकी देखिएका स्नायुलाई छालाको सतहमा ल्याई मर्मत गरी त्यसमा तार जडान गरे । त्यसपछि तिघ्रा काटिएको भागमा जडान हुने कृत्रिम खुट्टाको स्थानको भित्री भागमा रहेका ‘स्टिमुलेटर’मा छ वटा ‘सेन्सर’सँग ती तारहरू जोडे । अस्ट्रियाली नागरिक उल्फग्याङ रान्जरले आफूले जीवनको दोस्रो चरणमा प्रवेश गरेको र पुनः जन्मेको जस्तो अनुभव गरेको बताए । पूर्व शिक्षक रान्जरले सन् २००७ मा मस्तिष्कघातमा रगत जमेपछि आफ्नो दाहिने खुट्टा गुमाउनु परेको थियो । उनले नयाँ खुट्टा परीक्षण गर्न छ महिना बिताउनु परेको थियो । उनले आफूले नयाँ खुट्टा पाएको जस्तो अनुभव गरेको बताए । उनले अब आफू बरफमा नचिप्लिने र आफू ग्राभेल, कङ्क्रिट, घाँस वा बालुवा केमा टेकेको हो सो बताउनसक्ने बताए । उनले आफूले सानो ढुङ्गा टेके पनि त्यसलाई अनुभव गर्नसक्ने बताए । चवन्न वर्षीय रान्जर हाल दगुर्न, साइकल चड्न तथा पहाड चढ्न सक्छन् । उनी हिँड्दा उनको खुट्टा कृत्रिम हो भनी थाहा पाउन सकिन्न । रान्जरले पाइला सार्दा सानो ‘सेन्सर’ यन्त्रले उनको मस्तिष्कमा सङ्केत पठाउँछ । स्वस्थ्य खुट्टामा छालामा रहेको सङ्केत प्राप्त गर्ने स्नायुले यो काम गर्छ र रान्जरमा यो कुरा नभएको इगरले बताउनुभयो । उहाँले सूचना प्रदायक स्नायु अझै त्यहाँ कायम रहेको बताउनुभयो । यी सङ्केतकले मस्तिष्कलाई शरीरमा अझै पनि खुट्टा रहेको कुरा बताउने र यो कृत्रिम खुट्टा लगाउने व्यक्ति हिँड्दा र खुट्टा उचाल्दा त्यसको अनुभव गर्ने उहाँले जानकारी दिनुभयो । उहाँले यस्ता विषयमा ध्यान दिइएको, यो प्रक्रिया सरल भएको त्यसले नतिजा पनि दिएको उल्लेख गर्नुभयो । यी अस्ट्रियन वैज्ञानिकले यस्ता अनुसन्धानले विश्वलाई चकित बनाएको यो पहिलोपटक होइन । सन् २०१० मा उनले मगजले नियन्त्रण गर्न सकिने कृत्रिम हात बनाएका थिए । त्यसलाई पहिले काटिएको पाखुरामा जोडिएको थियो । कृत्रिम खुट्टाका लागि सिद्धान्त समान भए पनि प्रक्रिया केही फरक बनाइएको थियो हाल कृत्रिम अङ्गले सूचना मस्तिष्कमा पठाउँछ । सन्तुलन र सुरक्षा दिनुका साथै यस कृत्रिम अङ्गले रान्जरलाई कडा पीडाबाट जोगाउँछ । रान्जरले परम्परागत कृत्रिम अङ्ग लगाउँदा आफूले निकै पीडा भोग्ने गरेको, राती दुई घण्टा पनि सुत्न नसकेको र दिनमा पनि पीडा निवारक मर्फिन प्रयोग गर्ने गरेको बताए । अक्टोबरमा शल्यक्रिया गरेको केही दिनपछि उनले पीडा भोग्नुपरेको छैन । गुमेको अङ्ग खोज्दा मस्तिष्कले संवेदना भोग्ने र त्यसका कारण निकै कडा पीडा हुने इगरले बताउनुभयो । कृक्रिम अङ्ग फेला पर्दा मस्तिष्कले पुनः अङ्ग नखोज्ने र त्यसका कारण पीडा नहुने उहाँले बताउनुभयो । उहाँले रान्जरलाई आफूले सन् २०१२ मा भेट्दा भन्दा निकै फरक व्यक्तिको रूपमा फेला पारेको बताउनुभयो । यी दुई व्यक्तिलाई अङ्ग गुमाएका व्यक्तिहरूलाई सहयोग गर्ने एक समूहले भेटाइदिएका थिए । उहाँले शल्यक्रियापछि स्वास्थ्यमा कुनै खतरा नभएको र छिटो स्वास्थ्यलाभ हुने बताउनुभयो । उहाँले कहिले काँही स्नायुले मस्तिष्कसँग राम्रोसँग सम्बन्ध स्थापना गर्न नसक्ने बताउनुभयो । नयाँ प्रविधि तयार भएको र इगरले साना कम्पनीले आफ्नो प्रयासमा सहयोग गर्नसक्ने र यस्ता कृत्रिम अङ्ग कम बजार मूल्यमा तयार गर्नसक्ने बताउनुभयो । हाल यस्ता उच्च प्रविधिको अङ्गको बजार मूल्य १० हजारदेखि ३० हजार युरो रहेको छ । उहाँले यसबाट विकासशील मुलुकका अङ्ग गुमाएका व्यक्तिको पनि जीवनस्तर सुधार्न सकिने बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?