मर्सको संक्रमण फैलने आशंकामा सिंगापुरमा विशेष सतर्कता
दक्षिण कोरियामा केही हप्तामात्र यतादेखि देखापरिरहेको मिडल इस्ट रेस्पिरेटोरी सिन्ड्रोम (मर्स) को सङ्क्रमणमा कमी आउन नसक्दा एसियाका तथा दक्षिण कोरियाका छिमेकी देशहरूमा पनि यसप्रति सतर्कता अपनाउन थालिएको छ । अधिकारीहरूले कोरियामा यसको सङ्क्रमण बढ्दो मात्रामा रहेको बताएका छन् । त्यसैले अन्य छिमेकी देशमा पनि यसप्रति सतर्कता अपनाउन थालिएको हो ।यसको सङ््क्रमित भई दक्षिण कोरियामा कम्तीमा पनि नौ जनाको ज्यान गइसकेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । बिहीबार थप एकजना गर्भवती महिलामा यसको सङ्क्रमण भेटिएको अधिकारीहरूले जनाएका छन् । दक्षिण कोरियाबाट प्राप्त एक समाचारअनुसार यस सङ्क्रमणबाट हालसम्म त्यहाँ कम्तीमा पनि १२२ जना प्रभावित भएका छन् । यसैबीच प्राप्त अर्काे एक समाचारअनुसार हङकङमा पनि यस सङ्क्रमणको प्रभावका बारेमा सतर्कता अपनाइएको छ । तर यसको प्रभाव नरहेको पाइएको अधिकारीहरूले जनाएका छन् । उता सिङ्गापुरले पनि यस सङ्क्रमणबाट बच्न विभिन्न हिसाबले सतर्कता अपनाएको जनाइएको छ । त्यहाँका स्वास्थ्य अधिकारीहरूले दिएको जानकारीअनुसार त्यहाँ यसको सङ्क्रमण एक जनामा भेटिएको थियो । दक्षिण कोरियाको निकट देश हङकङमा पनि यसको सङ्क्रमण फैलिएको समाचार आएपछि त्यसको परीक्षण भएको र त्यहाँ यसको प्रभाव नभेटिएको समाचार आएलगत्तै सिङ्गापुरले पनि यसप्रति सतर्कता अपनाएको जनाएको हो । सिङ्गापुरका प्रधानमन्त्री लि एचसेन लुमले यस विषयमा सिङ्गापुर पूर्णरूपमा सतर्क रहेको जानकारी दिनुभएको थियो । उहाँले स्वास्थ्य अधिकारीहरूलाई देशमा यसको सङ्क्रमण भित्रिन नदिन पूर्णरूपमा सतर्कता अपनाउन आदेश पनि दिनुभएको छ । अधिकारीहरूले केही समयअघि त्यहाँ एकजनामा यसको सङ्क्रमण भेटिएको जनाएको छ ।