चीनमा ‘छोडिएका’ बालबालिकाले आत्महत्या गरे


chinaचीनको दक्षिणी भागमा बाबुआमाले महिनौसम्म ‘छोडेका’ पाँच वर्षदेखि १४ वर्षसम्मका चार बालबालिकाले कीटनाशक विष खाई आत्महत्या गरेको जानकारी सरकार तथा सरकारी आमसञ्चारले शुक्रबार दिएका छन् । गुइझाउ प्रान्तको बिजीस्थित आफ्नै घरमा एक बालक तथा उसकी बहिनीहरूलाई विष खाएर पीडा भोगिरहेको अवस्थामा मङ्गलबार गाउँलेहरूले फेला पारेको सिन्ह्वा समाचार संस्थाले जानकारी दिएको छ । यी बालबालिकाको छिटै मृत्यु भएको तथा प्रहरीले यी बालबालिकाले आत्महत्या गरेको विश्वास गरेको बताइएको छ । यस घटनाले ग्रामीण क्षेत्रका बाहिर गएर काम गर्ने अभिभावकका बालबालिकाले भोग्ने गरेको अवस्थालाई उजागर गर्ने बताइएको छ । सन् २०१३ को फेब्रुअरीमा यी बालबालिकाका आमालाई उनीहरूका बाबुले कुटपिट गरेपछि उनले उनीहरूलाई छोडेकी थिइन् । उक्त जानकारी प्रान्तीय नागरिक मामिलाका अधिकारीहरूले दिएका हुन् । सिन्ह्वा समाचार समितिले उनीहरूका आमा कहाँ छिन् भन्ने थाहा हुननसकेको उल्लेख गरेको छ । यी बालबालिकाका बाबु झाङ फेङकी मार्च २०१५ मा काम गर्न अन्यत्र गएको र निजले समयसमयमा उनीहरूलाई पैसा पठाउने गरेको उक्त गाउँका कम्युनिस्ट पार्टीका प्रमुख तथा उक्त परिवारका नातेदारले बताएका छन् । यस घटनाका कारण चीनमा सार्वजनिक रूपमा व्यापक समवेदना प्रकट भएको छ भने प्रधानमन्त्री ली कचियाङले यस्तो दुर्घटना अन्त्य गर्न आह्वान गर्दै यस्ता परिवारलाई यस्तो समयमा सहयोग गर्न नसक्ने अधिकारीहरूमाथि कारवाही गर्ने दृढता व्यक्त गर्नुभएको छ । स्थानीय सरकारको वेबसाइटमा यस घटनाका विषयमा अनुसन्धान भइरहेको र धेरै अधिकारीहरूलाई निलम्बन गरिएको र उनीहरूको पदबाट हटाइएको उल्लेख गरिएको छ । यी बालबालिकाले पहिले नै निकै गम्भीर घरेलु हिंसा भोगेको र अघि पनि उक्त बालकले आत्महत्या गर्न प्रयास गरेको सिन्ह्वा समाचार समितिले उक्त परिवारको महिला नातेदारले बताए भनी उल्लेख गरेको छ । यी महिलाले यी बालबालिकाका पिताले कुनै समयमा यी बालकको हात भाँची दिएको र उसको कान च्यातिदिएको बताए भनी सिन्ह्वाले उल्लेख गरेको छ । चीनमा आप्रवासी कामदारका बालबालिकालाई ‘छोडिएका बालबालिका’ भन्ने गरिन्छ । उनीहरू आफ्नो गाउँको घरमा हजुरबुबा वा हजुरआमासँग बसोबास गर्छन् । चीनमा किन्डरगार्टेन र नगरमा विद्यालयमा भर्ना पाउन निकै कठिन हुन्छ वा निकै महङ्गो हुन्छ । चीनमा यस्ता छ करोड बालबालिका रहेको र त्यसमा ३.४ प्रतिशतको अभिभावक नभएको अल–चाइना विमन्स फेडरेसनले सन् २०१३ मा आफ्नो प्रतिवेदनमा उल्लेख गरेको भनी सिन्ह्वाले उल्लेख गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?