पक्राउ आदेशका बाबजुद सुडानका राष्ट्रपति स्वदेश फर्किने
दक्षिण अफ्रिकाको एक अदालतले सुडानका राष्ट्रपतिलाई युद्ध अपराध तथा जातिहत्याका विषयमा पक्राउ आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय नगरेसम्म दक्षिण अफ्रिका बाहिर नजान आदेश दिए पनि उहाँ स्वदेश फर्कनुहुने खार्तुमले सोमबार जनाएको छ । जोहानेसबर्गमा अफ्रिकी युनियनको शिखर बैठकमा भाग लिइरहनुभएका सुडानी राष्ट्रपति बसिरमाथि पश्चिमी डाफर क्षेत्रमा युद्ध अपराध, मानवताविरुद्ध अपराध तथा जाति हत्याको आरोपमा अन्तर्राष्ट्रिय फौजदारी अदालतले पक्राउ आदेश जारी गरेको छ । खार्तुमबाट सुडानका सूचना राज्यमन्त्री यासिर युसेफले टेलिफोनमा राष्ट्रपति बसिरको विमान जोहानेसबर्गबाट प्रस्थान गरेको र उहाँ आजै साँझ ६ः३० बजे आइपुग्नुहुने जानकारी दिनुभयो । उहाँले राष्ट्रपति बसिरसँग भेट गर्न चाहने भीडलाई उहाँले सम्बोधन गर्ने बताउनुभयो । आईसीसीले पक्राउ आदेश जारी गरेको अवस्थामा सुडानका राष्ट्रपतिलाई पक्राउ गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय नगरेसम्म उहाँलाई मुलुक छोड्न नदिन दक्षिण अफ्रिकी एक न्यायाधीशले आइतबार अधिकारीहरूलाई आदेश दिएका थिए । दक्षिण अफ्रिका आईसीसीको विधानमा हस्ताक्षर गर्ने मुलुक हो र यस संस्थाले अफ्रिकी नेताहरूलाई मात्र लक्ष्य बनाएको भनी आरोप लगाउने गरिन्छ ।ु