मेलबर्नमा ट्वीन टावर बनाउँदै अध्यक्ष घलेको एमआईटी ग्रूप
एनआरएन अध्यक्ष एवं नेपाली व्यवसायी शेष घलेले अब मेलबर्नमा १८ तल्लाको ५७ मिटर अग्लो एक र १ सय २१ मिटर अग्लो अर्को गरी ट्वीन टावर बनाउने भएका छन् । घले दम्पत्तिको एमआईटी ग्रुपले निार्मण गर्न लागेको यस व्यवसायिक भवनमा ४ सय ७० अपार्टमेन्ट र २ सय १० कोठाको होटल हुनेछ । करिब ४ सय ५० मिलियन डलरको यस प्रोजेक्टलाई भिक्टोरियाका योजनामन्त्री रिचर्ड वाइनीले स्वीकृत गरेपछि अब निर्माण अघि बढ्ने भएको हो । मेलबर्नको ३८६/४१२ विलियम स्ट्रीटमा रहेको स्थानमा यो भव्य होटल र अपार्टमेन्ट निर्माण गरिनेछ । भर्खरै नेपाल सरकारबाट पुननिर्माणका लागि सद्भावना दूतमा नियुक्त हुनुभएका घलेका लागि यो अर्को एउटा व्यवसायिक उपलब्धी बन्न सफल भएको छ । यसअघि विभिन्न घरहरुलाई मर्मत गरी पुनप्र्रयोगको प्रोजेक्ट गर्दै आएको एमआईटीका लागि यो पहिलो निर्माण योजना हुनेछ । ३ हजार ९ सय स्क्वाएर मिटर क्षेत्रफलमा फैलिएको यो क्षेत्र सन् २००९ मा १६ दशमलब २ मिलियन डलरमा एमआईटीले किनेको थियो । बनाउन लागिएको अपार्टमेन्ट र होटलमा सबै अत्याधुनिक सुविधा हुनेछन् । मेलबर्नमा अझै पनि होटलहरु निर्माण गर्नु आवश्यक रहेको प्रतिवेदन आएकै बेला यो परियोजना स्वीकृत भएको छ । अध्यक्ष घलेले नेपालमा पनि शेराटन होटल निर्माण सुरु गरिसक्नुभएको छ ।