सिड्नीमा फेशनमाण्डू हुँदै, २ सयभन्दा बढीबाट छानिए २० मोडल
फेशनमाण्डू २०१५ सिड्नीमा आयोजना हुने भएको छ । २० मोडलको सहभागिता रहने यस कार्यक्रममा सहभागीमध्ये ६ जनामात्रै नेपाली मोडल रहनेछन् । शो स्टपरको रुपमा रेकी मिस टिन अष्ट्रेलिया ग्लोबल युनाईटेड २०१५ सोनी टर्नरले भरपूर मनोरञ्जनात्मक कार्यक्रममा सहभागी हुन आह्वान गरिन् । साथै, जीवनउत्थानको माध्यमबाट च्यारिटी कार्यक्रमका सहभागी हुन पाउँदा निकै खुशी लागेको उनको प्रतिक्रिया थियो । पत्रकार सम्मेलनमा शो स्टपरको रुपमै मिस वल्र्ड नेपाल २०१२ श्रृष्टि श्रेष्ठ र मिस अष्ट्रेलिया बेष्ट मोडल २०१४ , लुइस ब्रोइंग रहने जानकारी गराइएको थियो । फेशनमाण्डूको मोडल छनोटको चरणमा २ सयभन्दा बढी आबेदनमध्येबाट २० जनालाई छनोट गरिएको र बहुसांस्कृतिक अष्ट्रेलियामा यो एक अन्तर्राष्ट्रियस्तरको कार्यक्रम हुने आयोजक के गरिरा डटकमका किरण नेवाले जानकारी दिनुभयो । कार्यक्रमकै आयोजकमध्येकी एक अर्चना थापाले यस ईभेन्टबाट संकलित रकम जीवनउत्थान नामक च्यारिटी संस्थालाई प्रदान गर्ने जानकारी दिनुभयो । जीवनउत्थानले नेपाली टुहुरा बालबालिकाको शिक्षा, स्वास्थ्य र भविष्य निर्माणको दिशामा काम गरिरहेको र भूकम्पपछि पनि थप बालबालिकाहरुको निम्ति यस किसिमको सुविधा उपलब्ध गराउन क्रियाशील रहेको थापाले बताउनुभयो । जीवनउत्थानको अष्ट्रेलिया च्याप्टर समेत रहेको छ । कार्यक्रम २९ अगष्ट शनिबारका दिन साँझ ६ बजेदेखि सिड्नी सिटीस्थित एसएमसी कन्फ्रेन्स एण्ड फंक्सन सेन्टरमा आयोजना हुनेछ । कार्यक्रमको टेलिभिजन पार्टनर एमएनटीभी रहेको छ ।
स्मार्ट राईनो कम्युनिटी एवार्ड
फेशनमाण्डूको आयोजनाकै बेलामा स्मार्ट राईनो ग्रूपले आयोजना गर्ने स्मार्ट राइनो कम्युनिटी एवार्ड पनि दिइने भएको छ । यस वर्ष तीन विधामा पुरस्कार दिइनेछ । कार्यक्रममा स्मार्ट राइनो ग्रुपका विनोद पौडेलले दिनुभएको जानकारी अनुसार समूदायमा रहेका व्यक्तित्वहरुको हौसलाका लागि एवार्ड आयोजना गरिएको बताउनुभयो । साथै पौडेलले यसका लागि केही समयमै मनोनयन खुल्ला गरिने र निष्पक्ष निर्णायकहरुले एवार्ड प्राप्त गर्ने व्यक्तित्वहरुको चयन गर्ने जानकारी दिनुभयो ।