पाकिस्तानमा तातो हावाका कारण हजारभन्दा बढीको ज्यान गयो


hot waveपाकिस्तानी सहर कराचीमा केही दिनयतादेखि भीषण रूपमा चलेको तातो हावाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या एक हजारभन्दा बढी भएको सरकारी अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या १५ सय पुग्ने पनि सरकारी अधिकारीहरूले अनुमान गरेका छन् । एएफपी समाचार समितिले सङ्कलन गरेको तथ्याङ्क अनुसार कराची सहरभरी यस प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या बिहीबारसम्ममा एक हजार ७९ रहेका छन् । तर बिहीबार भने ७५ प्रतिशत बादल लागेकाले केही राहत महसुस गरिएको बताइएको छ । हिजोको तुलनामा बिहीबारको अवस्था केही सहज रहेको छ र जसका कारण आज ती अस्पतालमा त्यति धेरै बिरामी नपुगेको बताइएको छ । बिहीबारको कराचीको तापक्रम ३४ डिग्री रहेको बताइएको छ । कराचीको प्रान्तीय राजधानी नगरका कैयौँ अस्पतालमा तातो हावा अर्थात् लूको कारण बिरामी भएर आएका व्यक्तिको ठूलो सङ्ख्यामा मृत्यु भएको छ । त्यहाँ तीन हजारभन्दा बढी व्यक्ति उपचारार्थ रहेको चिकित्सकहरूले जनाएका छन् । कराची सहरमा करिब दुई करोड व्यक्तिको बसोबास रहँदै आएको छ । पाकिस्तानको मौसम विज्ञान विभागका अनुसार सन् १९९७ यता हाल आएर पाकिस्तानको आर्थिक केन्द्रका रूपमा रहेको कराची सहरको तापक्रम पहिलो पटक ४५ डिग्री पुगेको छ । नागरिकमा तातो हावाका कारण ठूलो त्रास उत्पन्न भएकाले थप व्यक्तिको ज्यान जानबाट जोगाउनका लागि सरकारले तुरुन्तै प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने माग उनीहरूले गरेका छन् । यसैबीच प्रान्तीय सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ र यहाँका बासिन्दालाई घरमै बस्न सल्लाह दिएको छ । यस प्रकोपबाट ज्यान गुमाउने प्रायः दिउँसो घर बाहिर काम गर्ने श्रमिक परेको एक अधिकारीले बताएका छन् । केही समय अगाडिमात्र पाकिस्तानको छिमेकी राष्ट्र भारतमा गर्मीको लहरका कारण दुई हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?