एनआरएन चुनावमा पहिलो पटक सबै राज्यमा ईलेक्ट्रोनिक भोटिंग, उम्मेद्वारको अन्तिम सूचि सार्वजनिक
एनआरएन अष्ट्रेलियाको आगामी जुलाई ४ तारिखमा हुने चुनावका लागि अन्तिम उम्मेद्वारको सूचि निर्वाचन आयोगले सार्वजनिक गरेको छ । साथै, निर्वाचन आयोगले ईलेक्ट्रोनिक भोटिंगको माध्यमबाट चुनाव गर्ने पनि प्रष्ट पारेको छ । एमएनटीभीसँग कुरा गर्दै राष्ट्रिय निर्वाचन आयोगका प्रमुख जोग लिम्बुले भन्नुभयो, “केही काम बाँकी छ । तर, हामी ईलेक्ट्रोनिक भोटिंगमै जाने निश्चित भएको छ । मतदाताले तोकिएको मतदान केन्द्रमा पुगेर ईलेक्ट्रोनिक माध्यमबाट आफ्नो मत दिन सक्नेछन् । न्यू साउथवेल्समा दोश्रो पटक भएपनि अन्य सबै राज्यमा पहिलो पटक ईलेक्ट्रोनिक भोटिंग भएका कारण कसरी मतदान गर्ने हो भन्ने बारेमा चुनाव अघि नै हामी मतदाता शिक्षा पनि सञ्चालन गर्नेछौं ।”
निर्वाचन आयोगले सार्वजनिक गरेको सूचि अनुसार अध्यक्ष पदमा भरत पोखरेल र सुरेन्द्र सिग्देलबीच प्रतिस्पर्धा हुने भएको छ । यस्तै सचिव पदमा तोनु घोताने र स्वतन्त्र प्रताप शाह, सहसचिवमा भिष्म भण्डारी र सरोजकुमार शर्मा र कोषाध्यक्षमा डिलाराम खरेल र प्रकाश सापकोटाबीच चुनावी प्रतिस्पर्धा हुनेछ । त्यस्तै युथ कोअर्डिनेटरमा विजयशर्मा चापागाईं र सचिन्द्र थापा चुनावी मैदानमा छन् । अर्कोतर्फ राष्ट्रिय संयोजन परिषद्को सदस्यका रुपमा क्यापिटन टेरोटेरी क्यानबेराबाट राजन ढुंगेल सर्वसम्मत भएका छन् भने क्वीन्सल्याण्डबाट चार सदस्यको लागि सात जना मैदानमा छन् । त्यस्तै न्यू साउथवेल्सबाट ६ सदस्यका लागि १२ जना मैदानमा छन् । नर्दन टेरोटरीबाट अमृतकुमार लम्साल निर्विरोध भएका छन् भने साउथ अष्ट्रेलियाबाट दुई पदका लागि तीन जना प्रतिस्पर्धामा छन् । भिक्टोरियाबाट तीन सदस्य निर्विरोध भएका छन् जसमा नारायण काफ्ले, महेन्द्र केसी, महेश सिंह रहेका छन् । वेस्टर्न अष्ट्रेलियाबाट तीन सदस्यका लागि चार जना मैदानमा छन् । यसअघि नै सिर्जना संग्रौलाको नेतृत्वमा नारी निकुञ्जको पूरै टिम निर्विरोध भइसकेको छ । महत्वपूर्ण मानिएको अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य पदमा ५ सिटको लागि १० जना उम्मेद्वार प्रतिस्पर्धा गरिरहेका छन् । जसमा केशव सापकोटा, प्रकाश जिसी, चुरामणि बेल्बासे, दिपक भट्टराई, चोलाकान्त भुसाल, दिपकदेव पंगेनी, झवनाथ अर्याल, राजु अधिकारी, बालचन्द्र भट्टराई र ईश्वर कुईकेल छन् । केही ठाउँमा सर्वसम्मत चयन भएकोप्रति प्रमुख निर्वाचन अधिकृत लिम्बुले प्रसन्नता व्यक्त गर्दै निर्वाचन लोकतान्त्रिक अभ्यास भएकोले यसलाई सबैले स्वीकार गरेपनि समाजसेवा गर्ने संस्थामा सहमतिले चुनिनु उदाहरणीय कार्य भएको बताउनुभयो । केही उम्मेद्वारको उम्मेद्वारी रद्द भएको सम्बन्धमा प्रतिक्रिया दिँदै कानूनसम्मत ढंगबाट सर्वसम्मतिले निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । साथै निर्वाचन प्रमुख आयुक्त लिम्बुले सर्वसम्मत हुनुभएका र चुनावका लागि उम्मेद्वारी दिने सबैलाई शुभकामना दिँदै अष्ट्रेलियामा रहेका नेपाली समूदायबीचको एकतालाई अझ मजबुत बनाउँदै सामूदायिक भावनाका साथ अघि बढ्न आह्वान गर्नुभएको छ । एमएनटीभीसँगको कुराकानीमा प्रमुख निर्वाचन आयुक्त लिम्बुले भन्नुभयो, “हामी निस्वार्थ भावनाले काम गरिरहेका छौं र समूदायले गरेको विश्वासमा हामी खरो उत्रनेछौं भन्नेमा विश्वस्त छौं । निर्वाचनमा उत्साहपूर्वक सहभागी बनौं र सही नेतृत्व चयन गरेर समूदायलाई सकारात्मक बाटोमा लैजान आफ्नो भूमिका निर्वाह गरौं ।” निर्वाचन जुलाई ४ तारिखका दिन विहान ८ बजेदेखि साँझ ६ बजेसम्म हुनेछ । ईलेक्ट्रोनिक भोटिंग भएका कारण मतदानको केही समयभित्रै नतिजा आइसक्नेछ ।