बन्यो संविधानको मस्यौदा, १४ गते संविधानसभामा प्रस्तुत गरिने


constiसंविधान मस्यौदा कार्यदलले संविधानको प्रारम्भिक मस्यौदा तयार गरेको छ । कार्यदलले तयार गरेको मस्यौदा संविधानसभा मस्यौदा समितिको राति अबेर बसेको बैठकमा पेस गरिएको छ ।उक्त मस्यौदा समितिका सदस्यलाई अध्ययनका लागि आज वितरण गरिएको छ । मस्यौदामाथि केन्द्रित रहेर शनिबार बस्ने समितिको बैठकमा छलफल हुनेछ । दुई दिनको छलफलमा उठेका संविधानमा नसमेटी नहुने विषयलाई समावेश गरेर समितिले प्रारम्भिक मस्यौदाको प्रतिवेदनलाई अन्तिम रुप दिइनेछ । मस्यौदालाई अन्तिम रुप दिएपछि समितिका सभापतिले संविधानसभामा छलफलका लागि सभामुखलाई बुझाउनु हुनेछ । सो प्रतिवेदन यही असार १४ गते बस्ने संविधानसभा बैठकमा पेस गरिनेछ । प्रारम्भिक मस्यौदामा २९६ धारा ३७ भाग र सात अनुसूची रहेको बुझिएको छ । प्रमुख चार दलबीच सहमति भएको १६ बुँदे सहमतिको भावनालाई समेटेर प्रारम्भिक मस्यौदा तयार गरिएको हो । समितिको बैठक शनिबार सिंहदरबारमा बस्दैछ । संविधान मस्यौदा समिति, प्रारम्भिक एकीकृत मस्यौदा कार्यदलले संविधानको मस्यौदा तयार गरेको हो । शुक्रबार बिहानदेखि सिंहदरबारमा बसेको कार्यदलको बैठकले संविधानको एकीकृत मस्यौदा तयार पारेको हो । संविधानको मस्यौदा तयार पार्नका लागि संविधान मस्यौदा समितिले केही दिन पहिले कार्यदल गठन गरेको थियो । कार्यदलले तयार पारेको मस्यौदालाई संवैधानिक र कानुनी भाषा दिन विज्ञको समेत सहयोग लिइएको थियो । कार्यदललाई पूर्वमन्त्री माधव पौडेल, पूर्वमुख्य सचिव तीर्थमान शाक्य, पूर्वसचिव भेषराज शर्मा र तथा कानुन, न्याय संविधानसभा तथा संसदीय मामिला मन्त्रालयका सहसचिव टेकप्रसाद ढुङ्गानाले सहयोग गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?