फ्रान्समा मीरा राईलाई उपाधि, नेपाली झण्डा फहरायो


mira raiफ्रान्समा आयोजित महिलातर्फको अल्ट्रा म्याराथनमा स्पेनी र अमेरिकी प्रतिस्पर्धीलाई पछि पार्दै नेपाली खेलाडी मीरा राईले उपाधि जित्नुभएको छ । स्पेनकी अन्ना कोमिट र अमेरिकाकी हिलारी एलिनले भने क्रमशः दोस्रो र तेस्रो स्थानमा चित्त बुझाउनु प¥यो । फ्रान्सको चामोनिक्समा भएको ८० किलोमिटरको दूरी राईले १२ घन्टा ३२ मिनेटमा पूरा गर्नुभएको थियो । भोजपुर निवासी राई माओवादी पूर्व लडाकु हुनुहुन्छ । शान्ति प्रक्रियापछि भएको सेना समायोजनमा अयोग्य ठहर भएपछि उहाँले खेलकुदतर्फ जोड दिनुभएको थियो । यसअघि राईले गत वर्ष मात्र हङकङमा भएको स्काई रनिङ एसियन च्याम्पियनसिप ५० किलोमिटर दौड जित्नुभएको थियो । त्यस्तै, गएको डिसेम्बरमा हङकङमै उहाँले नयाँ रेकर्डसहित स्वर्णपदक हात पार्नुभएको थियो । मीराको सफलतापछि नेपाल एथलेस्टिक्स सङ्घका उपाध्यक्ष सुशीलनरसिंह राणाले भन्नुभयो, “उहाँले फ्रान्समा पाएको सफलता नेपाली खेलकुद क्षेत्रका लागि ठूलै उपलब्धि हो ।”

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?