प्रधानमन्त्री र राष्ट्रपति दुबै पदको लागि माधव नेपाल अनिच्छुक
नेकपा (एमाले)का नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले व्यक्ति परिवर्तनका लागि मात्रै हुने सरकार परिवर्तनले जनतालाई खासै फरक नपर्ने बताउनुभएको छ । संविधान निर्माण पछि एमालेको नेतृत्वमा गठन हुने भनिएको सरकारको विषयमा समेत अनभिज्ञता प्रकट गर्दै नेता नेपालले जनताले सेवा सुविधा नपाउने सरकार ‘कौवालाई बेल पाक्यो हर्ष न विस्मात’ जस्तै भएको टिप्पणी गर्नुभयो । नेकपा (एमाले) रुपन्देहीले भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले पार्टीभित्र व्यक्ति वादी प्रवृति हाबी हुँदै गएको र यसले पर्टीलाई दीर्घकालीनरुपमा असर पार्ने बताउनुभयो । संविधान निमार्ण पछि बन्ने भनिएको एमालेको सरकारबारे पत्रकारको जिज्ञासामा नेता नेपालले आफू नत प्रधानमन्त्री नत राष्ट्रपति कै लागि इच्छुक भएको प्रतिक्रिया दिनुभयो । नेता नेपालले दलहरूले राजनीतिक गफ छोडेर पुनःनिर्माणका लागि लाग्नुपर्नेमा जोड दिनुभयो । भूकम्प पछि नेपालले भ्रष्टाचाररहित, दह्रो राजनीतिक इच्छाशक्ति भएको नेतृत्व खोजेको बताउँदै भूकम्प पछि सरकारले एकीकृत बस्ती विकासका लागि पहल गर्न सरकारसँग आग्रह गर्नुभयो । नेता नेपालले संविधान निर्माणमा समझदारी कायम गरेर छिटोभन्दा छिटो संविधान जारी गर्नुपर्ने बताउनुभयो ।