सिङ्गापुरका द्रुत रूपमा प्रौढ हुँदै गएका समाजमा प्रश्न: ‘‘हाम्रो सुरक्षा कसले गरिदेला?’’


singaporeसिङ्गापुरको जनता विश्वका अन्य कुनै पनि समाजभन्दा द्रुत रूपमा प्रौढ हुँदै गइरहेको बताउँदै प्रधानमन्त्री ली सिङ लुङले मङ्गलबार यसले अर्थतन्त्र तथा प्रतिरक्षामा गम्भीर प्रभाव पार्नसक्ने चेतावनी दिनुभएको छ । त्रिसट्ठी वर्षीय लीले आफ्नो नगरराज्य सरकारले नागरिकलाई थप शिशु जन्माउन अभिप्रेरित गरेपनि यस दशकमा सबैभन्दा कम दरमा जनसङ्ख्या वृद्धि भएको बताउनुभयो । सिङ्गापुर व्यवस्थापन विश्वविद्यालयले आयोजना गरेको मञ्चमा बोल्दै प्रधानमन्त्री लीले कसका लागि खर्च गर्न कसले कर तिर्ने भन्ने कुरा अन्यौल बन्दै गएको बताउनुभयो । उहाँले सिङ्गापुर सशस्त्र सेनामा को व्यक्ति जाने र कसले प्रतिरक्षा गर्ने भनी प्रश्न गर्नुभयो । उहाँले मुलुकको जनसङ्ख्यामा देखिएको परिवर्तनलाई मुलुकले आउँदो वर्ष भोग्ने प्रमुख चुनौतीको रूपमा प्रस्तुत गर्नुभयो । जापान, दक्षिण कोरिया तथा हङकङले पनि यस्तो समस्या भोगेको छ । गत वर्ष सिङ्गापुरको जनसङ्ख्या १.३ प्रतिशत मात्र वृद्धि भएको थियो । यो गत दश वर्षकै सबैभन्दा कम वृद्धि हो । उहाँले यस्तो प्रवृत्ति निरन्तर रहने बताउनुभयो । सिङ्गापुरको जनसङ्ख्यामा सन् २००० मा ६५ वर्ष नाघेका जनसङ्ख्या दुई लाख २० हजार रहेकोमा हाल चार लाख ४० हजार पुगेको र त्यो सन् २०३० मा नौ लाख पुग्ने बताउनुभयो । उहाँले हाल पाँच वयस्कले काम गरी एक प्रौढ नागरिकलाई सहयोग गरिरहेको अवस्थामा सन् २०३० मा दुई वयस्कले काम गरी एक प्रौढ नागरिकालाई सहयोग गर्नुपर्ने अवस्था आउने उहाँले बताउनुभयो । सिङ्गापुरमा हाल प्रति महिलाले १.१९ शिशु जन्माउने अवस्था देखिएको छ । सन् २०१४ को जुनमा सिङ्गापुरको जनसङ्ख्या ५४ लाख ७० हजार रहेको देखिएको छ । यसमा ४० प्रतिशत विदेशी रहेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?