पूर्व राष्ट्रपति राजापाक्छे संसदीय निर्वाचनमा उठ्ने


rajapakshyaश्रीलङ्काका पूर्व राष्ट्रपति महिन्दा राजापाक्छे आगामी संसदीय निर्वाचनमा उम्मेदवार बन्नुहुने भएको छ । आगामी अगष्ट १७ मा हुन लागेको सो संसदीय निर्वाचनमा उहाँ उम्मेदवार बन्नुहुने भएको हो । जनताको अनुरोधमा आफूले सो निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेको उहाँले बताउनुभएको छ । साथै आगामी संसदीय निर्वाचनमा आफू उम्मेदवार बन्ने र नयाँ सरकार निर्माण गर्ने उहाँले जानकारी दिनुभएको बुधबार प्राप्त एक समाचारमा जनाइएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आगामी संसद्मा सदस्यका रुपमा आफूले पूर्व राष्ट्रपतिलाई मनोनित नगर्ने धारणा सार्वजनिक गरेको एक दिनपछि पूर्व राष्ट्रपति राजापाक्छेको यो धारणा आएको हो । उहाँले प्रधानमन्त्रीको उम्मेदवारका रुपमा पूर्व राष्ट्रपतिलाई संसद्मा मनोनित नगर्ने कुरा मङ्गलबारमात्र बताउनुभएको थियो । सिरिसेना युनाइटेड पिपुल्स फ्रिडम अलाइन्सका अध्यक्ष हुनुहुन्छ । पूर्व राष्ट्रपति राजापाक्छे पनि सो अलाइन्सका एकजना सदस्य हुनुहुन्छ । श्रीलङ्काको दक्षिणी नगर ताङ्गालेको आफ्नो गृहनगरमा बुधबार बिहान आयोजित आफ्ना समर्थकहरूको ठूलो सङ्ख्याको भीडलाई सम्बोधन गर्दै उहाँले आज आफ्नो मौनता तोड्नुभएको हो । उहाँले भन्नुभयो– मलाई श्रीलङ्काली नागरिकहरूको ठूलो समर्थन रहेको छ र उनीहरूले गरेको करकापलाई मैले नकार्न सक्दिन, त्यसैले म संसदीय निर्वाचनमा उम्मेदवार बन्ने निर्णय गरेको छु । उहाँले जनताको माझमा आफ्नो धेरै राम्रो समर्थन रहेकाले आफूले निर्वाचनमा सहभागी बन्नेमात्र नभई अर्काे सरकार पनि आफ्नै नेतृत्वमा निर्माण हुने पनि उहाँले दाबी गर्नुभयो । तर उहाँ कुन राजनीतिक दलका तर्फबाट सो निर्वाचनमा प्रतिस्पर्धी बन्ने र प्रधानमन्त्रीका लागि उहाँलाई कसले समर्थन गर्ने हो भन्नेबारेमा भने उहाँले केही बताउनुभएको छैन ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?