काँग्रेस संसदीय दलमा छिटो मस्यौदा पारित गर्न छलफल
नेपाली काँग्रेसका सभासद्हरूले संविधानको प्रारम्भिक मस्यौदामा नमिलेका केही विषय मिलाई यही मस्यौदालाई पारित गरिनुपर्नेमा जोड दिएका छन् । संसदीय दलको आजको बैठकमा बोल्ने अधिकांश सदस्यले संसद्को दुई तिहाइले संविधान संशोधन गर्न सक्ने भएकाले नमिलेका केही कुरालाई मिलाएर छिटो गरी घोषणा गरिनुपर्ने विचार राखेको दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । बैठकमा उपसभापति रामचन्द्र पौडेलले संविधान मस्यौदा समितिले फरक विचार भएका दललाई मिलाई संविधानको प्रारम्भिक मस्यौदा ल्याएकामा स्वागत गरिनुपर्ने बताउनुभयो । “लोकतान्त्रिक पद्धतिबाट समाजवादमा पुग्ने मुद्दा काँग्रेसकै भएकाले यसमा शङ्का गरिनु हुन्न, प्रारम्भिक मस्यौदाका धेरै मुद्दा लोकतान्त्रिक मूल्य मान्यता र दलले बोक्दै आएका विचार भएकाले केही कमीकमजोरीलाई हटाई यही मस्यौदालाई पारित गरिनुपर्छ”– उहाँले भन्नुभयो । धर्म परिवर्तन गराउन नपाउने व्यवस्था हुँदाहुँदै धर्मबाट अलग्गिन पाउने व्यवस्थाका विषयमा प्रायः सभासद्ले उठाएको मुद्दाअनुसार संशोधन गरिनुपर्नेमा उपसभापति पौडेलले जोड दिनुभएको थियो । बैठकको प्रारम्भमा काँग्रेस महामन्त्री एवम् मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले फरक विचार र दर्शन बोकेका दलका बीचमा सहमति गरी प्रारम्भिक मस्यौदा तयार पार्दा कतिपय विषयमा सम्झौता गर्नु परेकाले त्यो परिस्थितिलाई बुभm्न आग्रह गर्नुभएको थियो । सीमाङ्कन र नामाङ्कन नगरी संविधानसभाको विघटन गरिनु नहुनेमा पनि केही सभासद्ले जोड दिएका थिए । धर्म निरपेक्षता धर्म परिवर्तन गराउने ‘लाइसेन्स’का रुपमा उपयोग भइरहेका बेला धर्मबाट अलग बस्न पाउने भाषा र शब्दावलीको प्रयोगले धार्मिक समस्या आउन सक्ने भएकाले यसतर्फ सचेत हुनसमेत सभासद्ले ध्यानाकर्षण गराएको सभासद् एवम् काठमाडौँ काँग्रेस सभापति भीमसेनदास प्रधानले जानकारी दिनुभयो । सीमाङ्कन र नामाङ्कनसहित प्रदेश निर्माणका लागि छिटो राज्य पुनःसंरचना आयोग गठन गरिनुपर्नेमा पनि आज बोल्ने सभासद् बद्री पाण्डे, पद्मनारायण चौधरी, डा प्रकाशशरण महत, भीष्मराज आङ्देम्बे, भोला महत, सुजाता परियार र पुष्पा भुसाल हुनुहुन्थ्यो ।