संविधान ढिलाईबारे शनिबार राति चार दलको भलाकुसारी
संविधान लेखन प्रक्रियालाई चाँडो अघि बढाउनेबारेमा प्रमुख चारदलका शीर्ष नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा राति अबेर भएको चारदलको बैठकमा संविधान लेखन प्रक्रियालाई कसरी प्रभावकारी बनाउने भन्नेबारे नेताहरुबीच कुराकानी भएको हो । बैठकमा संविधान जारी गर्ने सम्बन्धमा विभिन्न दलका भावनालाई समेटेर मस्यौदाको चाँडो टुङ्गो लगाउनेबारे शीर्षनेताहरुबीच परामर्श भएको स्रोतले जनाएको छ । बैठकमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, नेकपा (एमाले) का तर्फबाट अध्यक्ष केपी शर्मा ओली र अग्नि खरेल, एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार सहभागी हुनुहुन्थ्यो ।