भारतको औपचारिक भ्रमण गर्दै विपक्षी दलका नेता प्रचण्ड


prachanda1एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल यही असार २९ गते मङ्गलबार भारत भ्रमणमा जानु हुने भएको छ । भारत सरकारको निमन्त्रणामा उहाँ पाँच दिनका लागि भारत जान लाग्नुभएको हो । प्रमुख दलहरुबीच संविधान निर्माणको विषयमा १६ बुँदे सहमति भएको र संविधानसभामा संविधानको मस्यौदा छलफल सुरु भइसकेको सन्दर्भमा उहाँको भारत भ्रमण हुन लागेको हो । अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव चूडामणि खड्काले भारत सरकारको निमन्त्रणामा अध्यक्ष दाहाल भारत भ्रमणमा जान लाग्नुभएको जानकारी दिनुभयो । भ्रमणको क्रममा उच्चस्तरीय भेटघाट हुने बताइएको छ । तर को–कोसँग भेटघाट हुने हो सो सम्बन्धमा पूर्ण तयारी भने नभइसकेको एमाओवादीका केन्द्रीय सदस्यसमेत रहनुभएका खड्काले बताउनुभयो । संविधान निर्माण प्रक्रियाले गति लिएको र सरकारले नयाँ आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तथा बजेटको तयारी भइरहेको बेला उहाँको भ्रमण हुन लागेको हो । भ्रमणका क्रममा नेपाल, भारत र चीनबीच हुने भनिएको त्रिदेशीय समझदारीका विषयमा पनि छलफल हुने बताइएको छ । अध्यक्ष दाहाल आगामी साउन ३ गते स्वदेश फर्कनु हुनेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?