मुलकमा शान्ति ल्याउन सर्बमान्य संविधान आवश्यक भएको माधव नेपालको तर्क
नेकपा (एमाले)का नेता माधवकुमार नेपालले सम्पूर्ण नेपालीलाई मान्य हुने खालको संविधान बनाए मात्रै मुलुकमा शान्ति स्थापना हुने बताउनुभएको छ । स्थानीय गङ्गापिप्रा गाविसमा जापान सरकारको सहयोगमा रौतहट विकास गुठीद्वारा निर्माण गरिन लागेको सामुदायिक भवनको शिलान्यास गर्दै उहाँले सबै जातजाति र भाषाभाषीको अधिकार सुनिश्चित हुने खालको संविधानको आवश्यकता रहेको चर्चा गर्दै समृद्ध नेपाल बनाउन आपसी विवादलाई थाती राखेर अगाडि बढ्नुपर्ने धारणा राख्नु भयो । अबको समय विवादमा नलागी सबैले जनपक्षीय संविधान निर्माणमा जोड दिनुपर्ने बताउँदै नेता नेपालले जनताको भावना के हो सबैले बुझ्नु आवश्यक रहेको छ भन्नु भयो । कतिपय मधेसवादी दलले नयाँ बन्ने संविधान मधेस विरोधी भएको बताई प्रचारवाजी गर्ने गरेको तर्फ इङ्गित गर्दै उहाँले संविधानको मस्यौदा अध्ययन गरेर मात्र टीकाटिप्पणी गर्नु जायज हुने उल्लेख गर्नु भयो ।