भानु जयन्तीमा सिड्नीमा साहित्यिक जमघट र सम्मान
आज आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती विश्वभर मनाइँदैछ । सिड्नीमा भने गत शनिबार नै नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठानको आयोजनामा आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाइएको छ । भानुभक्त आचार्यको तस्वीरमा माल्र्यापण गरी सुरु गरिएको कार्यक्रममा आदिकविले नेपाललाई नेपाली भाषाको माध्यमबाट एकताबद्ध बनाएको चर्चा गरिएको थियो । साहित्यकार केदार पोखरेल कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो भने न्यू साउथवेल्सका लागि अवैतनिक महावाणिज्यदूत दिपक खड्का कार्यक्रमको विशिष्ठ अतिथि बनाइनुभएको थियो । यसैगरी कार्यक्रममा एनआरएन अष्ट्रेलियाका अध्यक्ष महेन्द्र ओली, अग्रज ईन्द्रा वन, नारायण प्रधान, एनआरएन सचिव रञ्जु वाग्ले, नवनिर्वाचित अध्यक्ष सुरेन्द्र सिग्देल, साहित्यकार सतिश कोइराला पनि अतिथिको रुपमा सहभागी हुनुभएको थियो । अतिथिहरुलाई संस्थाका महासचिव मुक्तिराम पोखरेलले स्वागत गर्नुभएको थियो । कार्यक्रममा विभिन्न कवि, साहित्यकारहरुले आफ्नो रचना प्रस्तुत गर्नुभएको थियो । संस्थाले यस वर्षको भानु पुरस्कार कवि निस्प्रभ सजिलाई प्रदान गरेको छ भने समाजका विभिन्न क्षेत्रमा रही साहित्यको निम्ति योगदान दिने व्यक्तित्वहरु, पत्रकार, कलाकार र बालकलाकारहरुलाई समेत प्रोत्साहन प्रदान गरिएको छ । दिनभरि नै चलेको साहित्यिक जमघटमा सांस्कृति प्रस्तुति पनि संलग्न थियो भने विभिन्न श्रष्टाहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रवासी पाईला नामक विशेषांक पनि लोकार्पण गरिएको छ । संस्थाकी अध्यक्ष सुजाता केसीले साहित्य र साहित्यकारको सम्बद्र्धन र प्रबद्र्धन गर्न सकेमा देशको परिचयलाई सधैं जीवित बनाउन सकिने बताउनुभयो । एमएनटीभसँग कुरा गर्दै साहित्यकारहरुलाई अष्ट्रेलियामा आफ्नो कृति प्रिन्ट गर्न र नयाँ पुस्तासम्म लैजान समस्या रहेको बताउनुभयो । नयाँ पुस्ताले खासै पुस्तकप्रति रुचि नराख्ने हुनाले यो रुचि बढाउनु नै चुनौती रहेको बताउनुभयो । यसैबीच, भानुजयन्तीको अवसरमै एडिलेडमा आगामी जुलाई १८ तारिखका दिन विशेष साहित्यिक जमघट आयोजना हुँदैछ । यस्तो जमघट अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज अष्ट्रेलियाले एनआरएन साउथ अष्ट्रेलियाको संयोजनमा गरेको हो ।