ईजरायली चालकविहीन जहाज ईरानले खसाल्यो, हमासलाई हतियार उपलब्ध गराउने
इरानले एक इजरायली चालकविहीन विमान आफ्नो हवाई क्षेत्रबाट खसाएपछि प्यालेस्टाइनीलाई हतियारबद्ध बनाउने कार्यलाई थप गति दिने चेतावनी एक सैनिक कमान्डरले सोमबार दिएका छन् ।
इरानले इजरायली राज्यको अस्तित्वलाई स्वीकार गरेको छैन र उसले गाजाबाट जुलाइ ८ देखि निरन्तर रूपमा रकेट प्रहार गर्न हमास तथा इस्लामिक जिहादका लडाकूहरूलाई प्रविधि उपलब्ध गराएको पुष्टि गरेको छ ।
इरानको क्रान्तिकारी गार्डका वायुसेनाका कमान्डर जनरल अमिर–अली हाजिजादेहले आफ्नो संस्थाको आधिकारिक वेबसाइटमा एक विज्ञप्ति राखी पश्चिमी किनारमा लडाकूलाई हतियारबद्ध बनाउने कार्यलाई गति दिने र कुनै पनि प्रक्रिया दिने इरानको अधिकार भएको उल्लेख गरेका छन् । गत महिना इरानका सर्वोच नेता आयातोल्लाह अली खामेनीले इस्लामी विश्वलाई प्यालेस्टाइनी जनतालाई इजरायलबाट हुने जातिहत्याको प्रतिरोध गर्न सहयोग गर्न हतियारबद्ध बनाउन आग्रह गर्नुभएको थियो । गाजामा सात सातासम्मको हिंसामा मर्ने प्यालेस्टाइनीको सङ्ख्या दुई हजार १२४ पुगेको छ भने इजराली पक्षमा यो सङ्ख्या ६८ रहेको छ । यीमध्ये चार सामान्य नागरिक छन् भने बाँकी सैनिक छन् । अगस्त १९ मा युद्धविरामको व्यवस्था भङ्ग भएपछि गाजाबाट ६५० रकेट इजरायली क्षेत्रमा प्रहार भएको छ भने करिब १०० रकेट इजरायलले नष्ट बनाएको छ । इरानको क्रान्तिकारी गार्डले एक दिनअगाडि इजरायली हर्मेस नाम गरेको स्टिल्थ चालकविहीन विमान मुलुकको मध्यभागमा रहेको नातान्ज युरेनियम प्रशोधन स्थलमाथिबाट खसाएको दाबी गरेको थियो र यसपछि यो चेतावनी आएको हो । नातान्ज इरानको प्रमुख युरेनियम प्रशोधन स्थल हो । यहाँ १६ हजार सेन्ट्रिफ्युज रहेका छन् । तीमध्ये तीन हजारभन्दा बढी फोर्दे संयन्त्रमा रहेको छ र यो संयन्त्र पहाडको भित्रीभागमा रहेकाले नष्ट गर्न कठिन हुने बताइएको छ । इजरायलले प्रायः इरानी पारमाणविक संयन्त्रमा आक्रमण गर्ने चेतावनी दिइरहेको छ । इजरायली चालकविहीन विमान खसाइएको समाचारका विषयमा एएफपीको प्रश्नमा जेरुसेलममा एक इजरायली प्रवक्ताले सेनाले विदेशी आमसञ्चारको समाचारलाई सम्बोधन नगर्ने बताए । जनरल हाजिजादेहले टेलिभिजनमा प्रसारण गरिएको एक पत्रकार सम्मेलनमा इजरायली चालकविहीन विमानलाई राडारले पत्ता लगाउन नसक्ने जानकारी दिए । उनले उक्त विमानका टुक्राहरू फेला पारिएको र त्यसमा विश्लेषण भइरहेको बताए । उक्त विमानले ८०० किलोमिटरको क्षेत्रलाई समेट्नसक्ने बताइएको छ । जनरल हाजिजादेहले उक्त चालकविहीन विमानलाई इरानको गुप्तचर प्रणालीले पत्ता लगाएको र त्यसलाई रिभोलुसनरी गार्डको जमिनबाट आकाशमा प्रहार हुने क्षेप्यास्त्रबाट खसाइएको जानकारी दिए । उक्त विमानमा उच्च गुणस्तरको फोटो खिच्ने दुई क्यामरा रहेको जानकारी दिइएको छ । इरानी टेलिभिजनले उक्त चालकविहीन विमानको टुक्राहरूको तस्वीर सार्वजनिक गरिदिएको छ । हाल इरान तथा पी फाइब प्लस वन अर्थात बेलायत, चीन, फ्रान्स, रसिया, अमेरिका तथा जर्मनीसँग पारमाणविक सम्झौताका लागि वार्तामा रहेको छ । उनीहरूले छ महिने अन्तरिम सम्झौता गरेका छन् जसमा इरानले आफ्ना केही पारमाणविक क्रियाकलाप बन्द गरेको छ भने इरानमाथि लगाइएको अन्तर्राष्ट्रिय प्रतिबन्ध आंशिक रूपमा हटाइएको छ । दुई पक्षलाई इरानको पारमाणविक कार्यक्रमका विषयमा तनाव कम गर्न अन्तिम सम्झौताका लागि वार्ता गर्न समय दिन नोभेम्बर २४ सम्म थप चार महिनाको समय बढाइएको छ ।
इरानलाई कतिसम्म युरेनियम प्रशोधन गर्न दिने भन्ने विषयमा दुबैपक्षबीच मतभेद रहेको छ । वासिङ्टनले तेहरानले आफ्नो कार्यक्रमलाई तीन चौथाइले कम गरोस् भन्ने चाहेको छ भने इरानले सन् २०२१ सम्म बुसेर पारमाणविक ऊर्जा संयन्त्रका लागि इन्धन उपलब्ध गराउन यो क्षमतामा १० गुणा बढाउन चाहेको छ । इजरायलले इरान र छ शक्ति मुलुकबीच तेहरानलाई युरेनियम प्रशोधन कार्यक्रम कायम राख्ने अनुमति दिने कुनै पनि सम्झौता नहोस् भन्ने चाहेको छ । उसले यसबाट तेहरानले पारमाणविक बम बनाउनसक्ने धारणा राखेको छ । तेहरानले भने आफूले पारमाणविक हतियार बनाउन नचाहेको बताएको छ ।