‘संविधानको मस्यौदामै देश विदेशीको हातमा जाने खतरा छ’
बागीश्वरी कलेजले आज आयोजना गरेको नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदा विषयक छलफल कार्यक्रममा सहभागी वक्ताहरूले मस्यौदामै देश विदेशीको हातमा जाने खतरा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले मस्यौदामा उल्लिखित आमा वा बाबु नेपाली भएमा जन्मेको सन्तानलाई वंशजको नागरिकता दिने प्रावधानले देशको शासन नै विदेशीको हातमा पुग्ने खतरा रहेको औँल्याउनुभयो । मस्यौदामा यो बुँदा नसच्याए आमा वा बाबु एकजनामात्र नेपाली र अर्को विदेशी नागरिक हुँदा विदेशीलाई नेपाली नागरिकता लिन सहज हुने र यसले देशको सार्वभौमिकतामाथि नै खतरा आउने उहाँको भनाइ थियो । उहाँँले आमा र बुबा दुवै नेपाली भएका सन्तानलाई मात्र वंशजको नागरिकता दिने गरी प्रस्तावित संविधानमा संशोधन हुनुपर्ने बताउनुभयो । मौलिक हकमा ‘कानुनमा व्यवस्था भए बमोजिम’ भन्ने वाक्यांशले जनताको हकलाई कुण्ठित गरेको बताउँदै सचिव प्रजापतिले उक्त भाषा हटाउनुपर्ने सुझाव दिनुभयो । उहाँले संविधानमा योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त, आदर निकेतनको व्यवस्था, बालोद्यान र शिशुस्याहारको व्यवस्था, निःशुल्क शिक्षा र स्वास्थ्यको व्यवस्था भएमात्र व्यापक गरिब जनताको हित हुने हुँदा संविधानमा यसको व्यवस्था गर्नुपर्ने चर्चा गर्नुभयो । त्यस अवसरमा कानुन अध्ययन समाजका प्रतिनिधि विकल प्रजापतिले ठूला राजनीतिक दलहरूको भागबन्डाका कारण संविधानको प्रारम्भिक मस्यौदा नै खिचडी भएकाले जनताको राय, सुझावलाई समेट्नुपर्ने बताउनुभयो । कार्यक्रममा बागीश्वरी उमाविका प्राचार्य कृष्णप्रसाद धन्छाले मस्यौदामा उल्लिखित ‘दलित आयोग’ ले लैङ्गिक विभेद गर्ने भएकाले उक्त शब्दको ठाउँमा आर्थिक रूपले विपन्न वर्ग उल्लेख गर्न सुझाव दिनुभयो । उमाविका सहायक प्राचार्य ज्ञानसागर प्रजापतिले शिक्षामा लगानी घट्दै गइरहेको अवस्थामा संवैधानिक व्यवस्थामै कुल बजेटको २० प्रतिशत शिक्षामा लगानी हुने प्रावधान राख्नुपर्ने सुझाव दिनुभयो ।