संसारकै ज्येष्ठ नागरिक नुवाकोटकी बाटुली लामिछाने


?

?
?

नुवाकोट थानसिङ्ग गाविस–८ आँपचौरकी बाटुली लामिछाने अहिले ११२ वर्ष तीन महिना २७ दिनकी हुनुभयो । उहाँले २०७० साल वैशाख २४ गते जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट लिनुभएको २५३०३१÷४१५ नम्बरको नागरिकता प्रमाणपत्रमा जन्म मिति १९५९ साल चैत १० गते उल्लेख छ । अझै हट्टाकट्टा रहनुभएकी बाटुली लामिछाने बिहान बेलुका घाँस काट्नेदेखि आफ्नो दैनिक कामकाज आफैँ गर्दै आउनुभएको छ । उहाँको दैनिकी देख्नेले ११२ वर्षको उमेर भएको पत्याउनै मुस्किल हुने गरेको छ । अझै बोली प्रष्ट रहेकी उहाँलाई कुनै ठूलो रोग नरहेको ७६ वर्षीय कान्छो छोरा नेत्रप्रसाद लामिछाने बताउनुहुन्छ । “आँखा देख्नुहुन्छ, कान अली कम सुन्नुहुन्छ, कसैको सहाराबिनै ठमठमी हिँड्नुहुन्छ”, कान्छा छोरा नेत्रप्रसादले भन्नुभयो । उहाँका अनुसार अझै बाटुली लामिछाने दैनिकजसो घाँससमेत काट्ने गर्नुहुन्छ । यस संवाददाता उहाँको घर पुग्दा पनि ११२ वर्षीया बाटुली लामिछाने मकै छोडाइरहनुभएको थियो । एक सय १२ वर्षीया जापानी नागरिक साकारी मोमोयीको निधन भएपछि लामिछाने परिवारले ११२ वर्ष तीन महिना २७ दिनकी बाटुली लामिछाने संसारकै जिवित ज्येष्ठ नागरिक रहेको दाबी गरेका छन् । सिन्धुपाल्चोकको गिरानीचौरमा जन्मनुभएकी बाटुली लामिछाने विवाह गरेर नुवाकोट आउनुभएको हो । उहाँका चार सन्तानमध्ये अहिले कान्छो छोरा मात्रै जीवित हुनुहुन्छ । दुई छोरी र एक छोराको निधन भइसकेको छ । उहाँका जेठो पनाती श्यामप्रसाद ढुङ्गानाको उमेर नै २५ वर्ष भइसकेको छ । उहाँ अहिलेसम्म निरोगी रहेको परिवारले बताएको छ । बाह्र वर्षअघि टाइफाइड ज्वरो आएपनि त्यसपछि कुनै रोगको सङ्क्रमण नरहेको नातिनीज्वाँई नवराज न्यौपानेले बताउनुभएको छ । साथै उहाँले ११२ वर्षीया जापानी नागरिकको निधन भइसकेकाले बाटुली लामिछाने संसारकै ज्येष्ठ नागरिक रहेकोसमेत दाबी गर्नुभएको छ । कपाल सेताम्मे फुलिसकेका बाटुली लामिछाने असाध्यै टाठोसमेत हुनुहुन्छ । गाउँघरका आफन्त छिमेकीसँग बोलचालदेखि ऐँचोपँैचोसमेत गर्न भ्याउनु हुने बाटुली गाउँभरिका लागि जिवित देवताका रुपमा सम्मानितरुपमा रहँदै आउनुभएको छ । उहाँका छिमेकी अर्जुन हुमागाईंका अनुसार उहाँको स्मरण शक्ति र बोलीचालीमा कुनै कमी आएको छैन । बिहान उठेर नुहाइधुवाइ गर्नेदेखि पूजापाठ, घाँस काट्नेसम्मको नित्य कर्ममा लागिरहनुभएका ११२ वर्ष तीन महिना २७ दिनकी बाटुलीले अहिलेसम्म डाक्टरी औषधि सेवन गर्नु नपरेको बुहारी ईश्वरी लामिछानेले बताउनुभएको छ । “अहिलेसम्म ओखती खानुपरेको छैन, आफ्नो काम म आफैँ गर्न भ्याउँछु,” बाटुलीले भन्नुभयो– “मलाई हिँडडुल गर्न, घाँस काट्न पनि केही गाह्रो भएको छैन ।” कुनै ठूलो र प्रभाव पार्ने रोग अहिलेसम्म शरीरमा नरहेकी लामिछानेले अझै तन्दुरुस्तीका साथ जीवन बिताउनुहुने चिनेजानेकाको अनुमान छ । वैशाख १२ गते गएको विनाशकारी भूकम्पका बेला घरको फलैँचामा बसिरहनुभएकी बाटुली लामिछानेलाई यो पालिको भूकम्पको पत्तै भएन । बरु उहाँलाई ९० सालको भूकम्पले अहिलेसम्म हल्लाइरहेको छ । “यसपालिको भुइँचालो त पत्तै भएन, ९० सालमा त बेस्करी हल्लिएको थियो” बाटुलीले भन्नुभयो । बाटुली लामिछानेले अहिलेसम्म नेपालमा भएका सबै निर्वाचनमा भाग लिनुभएको छ । पञ्चायतकालका सबै निर्वाचनदेखि दोस्रो संविधानसभा निर्वाचनमा समेत ११२ वर्ष चार महिनाका बाटुली लामिछानेले उत्तिकै सक्रिय र उत्साहका साथ मतदान गर्नुभएको थियो । रासस

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?