राप्रपा नेपालका नेताहरुमाथि भएको आक्रमणको छानविन माग
व्यवस्थापिका–संसद््को बैठकमा सभामुख सुवास नेम्वाङसँग समय लिई राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका प्रमुख सचेतक दीलनाथ गिरीले नयाँ संविधानको मस्यौदामाथि सर्वसाधारण नागरिकले सुझाव दिने समयावधि कम भएकामा आपत्ति जनाउँदै वर्षात्याम र धान रोपाइँमा व्यस्त हुन परेका नागरिकले सुझाव दिन नभ्याएको भनी ध्यानाकर्षण गराउनुभयो । सांसद गिरीले मस्यौदामाथि सुझाव लिन मकवानपुरको हेटौँडामा जाँदा यही साउन ५ गते आफ्ना पार्टी अध्यक्ष कमल थापा, सांसद गणेश थापा र पार्टीका मकवानपुर जिल्ला अध्यक्ष नवराज विष्टमाथि भएको साङ्घातिक आक्रमणप्रति आपत्ति जनाउनुभयो । साथै घटनाको निष्पक्ष छानबिन गरी दोषिमाथि कारवाही नभएसम्म सदन चल्न नसक्ने उहाँले बताउनुभयो । प्रमुख सचेतक गिरीले सो धारणा राखिरहँदा सभामुख नेम्वाङले व्यवस्थापिका–संसद््मा संविधानसभाको कुरा उठान गर्न नपाइने र संविधानसभामा व्यवस्थापिकाका कुरा उठान गर्न नपाईने कार्यविधि रहेको ध्यानाकर्षण गराउनुभएको थियो । सभामुख नेम्वाङले सो घटनाका बारेमा संसद्को अर्काे बैठकमा यथार्थ जानकारी गराउन गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । ंसद्को बैठकमा महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समितिका सभापति रञ्जुकुमारी झाले ‘राष्ट्रिय युवा परिषद् विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७२’ सदनमा पेस गर्नुभएको थियो । व्यवस्थापिका–संसद्को अर्काे बैठक यही साउन १० गते आइतबार अपराह्न ३ बजे बस्नेछ ।