व्यावहारिक रुपमै जातीय छुवाछुत अन्त्य गर्न जोड
सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले मानव मानवबीच हुने जातीय भेदभाव तथा छुवाछूत अमानवीय भएकाले सबै मिलेर सो कुप्रथा चाँडो हटाउनुपर्ने बताउनुभएको छ । विराटनगरमा यस वर्षको प्रवेशिका परीक्षमा उत्कृष्ट अङ्क ल्याउने मोरङका पाँच दलित समुदायका विद्यार्थीलाई सम्मान गर्दै मन्त्री डा रिजालले सबै मिलेर सामाजिक सङ्घर्ष गरेमा विद्यमान छुवाछूत प्रथा कम भएर जाने विश्वास व्यक्त गर्नुभयो । नेपाल सरकारका प्रवक्ता डा रिजालले भन्नुभयो–“ कानुन छ भनेर मात्र ढुक्क भएर बस्न हुँदैन, बरु व्यावहारिक रुपमै जातीय छुवाछुत अन्त्य गर्न सबै लागिपर्नुपर्छ ।” सम्मानित हुनेमा मोरङको बेलबारीस्थित भगवती उच्च माविकी ज्योति विश्वकर्मा, सरस्वती माविका मौसम सुनवार, बुद्ध माविका पुजन परियार, महेन्द्र माविका सुमन सार्की र सिद्धार्थ माविकी सिर्जना दास छन् । दलित अधिकारवादी संस्था रिडेफ नेपालले हरेक वर्ष सामुदायिक विद्यालयबाट प्रवेशिका परीक्षमा उत्कृष्ट अङ्क ल्याउने पाँच विद्यार्थीलाई नगदसहित सम्मान गर्दै आएको छ ।