प्रविधि प्रयोगमा अब्बल माओवादी: एकैसाथ जोडिए सबै प्रदेशका नेता कार्यकर्ता


काठमाडौँ । प्रविधिको प्रयोग गरेर नेकपा (माओवादी केन्द्रंले आज सात प्रदेश र दुईवटा गैरभौगोलिक प्रदेशको सम्मेलन एकैपटक आयोजना ग¥यो । कोरोनाको जोखिमका बीचमा माओवादीले प्रविधिको अधिकतम उपयोग गरेर काठमाडौँबाट एकैपटक धनगढीलाई जोड्यो ।

काठमाडौँमा कलाकारले गीत तथा नृत्य प्रस्तुत गर्दा धनगढीमा भेला भएका माओवादीका नेता तथा कार्यकर्ता उत्साहित हुन्थे भने कर्णाली प्रदेशका कलाकारले आफ्नो प्रस्तुति दिँदा कास्कीमा भेला भएका कार्यकर्ताले ताली बजाएर स्वागत गर्थे । संसारभर नै कोरोना कहरले नकारात्मक प्रभावका अलावा सकारात्म्क प्रभाव पनि पारेको छ । माओवादीको प्रदेश सम्मेलनलाई एकै स्थानमा जोड्न युवा नेता रामप्रसाद सापकोटाले विशेष पहल गरेका हुन् ।

नेता सापकोटाका अनुसार यसअघि माओवादीको सहायक सङ्गठन वाइसीएल नेपालको सम्मेलनमा पनि यस्तै प्रविधिको प्रयोग गरिएको थियो । भर्चुअल कन्फेरेन्स प्रविधिबाट माओवादीका १२ हजार बढी नेता तथा कार्यकर्ता एकै ठाउँमा जोडिएको पनि यो पहिलोपटक हो । नेपालका अन्य राजनीतिक दलले हालसम्म यस्तो प्रविधिको उपयोग नगरेको र माओवादीले नै पहिलोपटक नौवटा प्वाइन्टमार्फत देशैभर जोडिएको नेता सापकोटाको भनाइ छ ।

राष्ट्रिय सम्मेलनमा समेत कमै मात्र नेता तथा कार्यकर्ता सहभागी गराउने माओवादीको तयारी छ । वडा सम्मेलन, पालिका सम्मेलन हुँदै निर्वाचित भएका आएका झण्डै १२ हजार नेता तथा कार्यकर्तालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गरे । प्रदेश सदरमुमकामहरूमा भेला भएका नेता तथा कार्यकर्तालको यो स्तरको जमघटसमेत इतिहासमै पहिलोपटक भएको नेता सापकोटाको भनाइ छ ।

“प्रविधिको अधिकतम् प्रयोग गरेर देशैभरका नेता तथा कार्यकर्तालाई एकै ठाउँमा ल्याउन सकिन्छ भन्नेमा हामी सफल भएका छौँ”, वाइसीएलका पूर्वअध्यक्षसमेत रहेका नेता सापकोटाले भने, “प्रदेश सम्मेलनमा देखिएको कार्यकर्ता तहको उत्साह र उभारलाई अझै प्रविधिसँग जोडेर जनतामा पुग्नुपर्छ भन्नेसमेत हामीलाई शिक्षा प्राप्त भएको छ ।”

विराटनगर, जनकपुर, कास्की, सुर्खेत, दाङ पनि एकै ठाउँमा समेटिन आए । सङ्घीय राजधानीमा नै तीनवटा प्रदेशका सम्मेलन आयोजना गरियो । गैरभौगोलिकतर्फका विशेष र सम्पर्क समन्वय प्रदेश तथा बागमती प्रदेशको सम्मेलन काठमाडौँमा आयोजना गरिएको माओवादीले जनाएको छ । माओवादीले तय गरेको सङ्गठन संरचनामा १० प्रदेश छन् । प्रवास प्रदेशको भने आज सम्मेलन हुन सकेन ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठसहितका शीर्षनेताले बागमती प्रदेशको सम्मेलनमा उपस्थित भएर नेतृत्व गरे । सम्बन्धित प्रदेशका इञ्जार्च, अध्यक्षलगायत नेताहरू भने सम्बन्धित प्रदेशमा उपस्थित भएर सम्मेलनलाई भव्य बनाउन साथ र सहयोग गरे ।

पहिलोपटक माओवादी सङ्गठनलाई थप सुदृढ र परिस्कृत बनाउने लक्ष्यका साथ वडा सम्मेलन हुँदै प्रदेश सम्मेलनसम्म आइपुगेको छ । आगामी पुसको ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन तय गरेको छ । पहिलोपटक माओवादीले पार्टीमा निर्वाचन प्रणालीलाई अख्तियार गरेको छ । पार्टीमा देखिएको विचारको अलमललाई पनि राष्ट्रिय सम्मेलनमार्फत हल गर्ने लक्ष्य राखिएको छ ।

प्रदेश सम्मेलनसम्म आइपुग्दा माओवादीप्रति जनताको नयाँ भरोसा र विश्वास पैदा भएको जानकारी दिँदै प्रदेश नं १ का अध्यक्ष सुरेशकुमार राईले पहिलो पार्टी बन्न अब कुनै पनि तागतले रोक्न नसक्ने बताए । आफ्नो प्रदेशको सम्मेलनलाई सम्बोधन गर्दै उहाँले एमालेसँगको एकता टुटेपछि माओवादी पङ्क्तिमा नयाँ उत्साह भरिएको र त्यसलाई राष्ट्रिय सम्मेलनसम्म पुग्दा नयाँ आधारमा विचारसहित संश्लेषित हुने उल्लेख गरे ।

प्रदेश सम्मेलनबाट नौ पदाधिकारीसहितको समिति चयन हुनेछ । प्रदेश समिति एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी हुनेछन् । प्रदेशमा नं १ मा २५९, प्रदेश २ मा २७१, बागमतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ सदस्यीय समिति हुनेछ । विशेष, सम्पर्क र प्रवास समिति न्यूनतम १७५ सदस्यीय हुने व्यवस्था गरिएको छ ।

माओवादीले यसअघि यही मङ्सिर ११ गते पालिका सम्मेलन सम्पन्न गरेको थियो । राष्ट्रिय सम्मेलनमार्फत माओवादीले आगामी कार्यदिशा निर्माण गर्ने बताएको छ । माओवादीले प्रदेश समितिमा महिलाको प्रतिनिधित्व कम्तीमा ३५ प्रतिशत र २० प्रतिशत युवाको प्रतिनिधित्व पहिलोपटक सुनिश्चित गरेको छ । गण्डकी प्रदेश इञ्चार्ज हितराज पाण्डे महिला, युवा, दलितलगायतलाई पार्टी समितिमा विशेष प्राथमिकता दिइएको बताउँछन् ।

उनले १८ देखि ४० वर्षसम्मका युवालाई बढीभन्दा बढी पार्टी कमिटीमा जिम्मेवारी दिइने उनको भनाइ छ । यसका साथै दलित १९ प्रतिशत र मुस्लिम तथा सीमान्तकृतको सहभागितासहित प्रदेश समितिमा विशेष भूमिकासहितको प्रतिनिधित्व गराइने भएको छ ।

पार्टी अध्यक्ष प्रचण्ड राष्ट्रिय सम्मेलनसम्म पुग्दा नयाँ विचार, नयाँ सङ्गठन संरचनासहितको पार्टी बन्ने र आगामी निर्वाचनमा पहिलो पार्टी बनेर देशको विकास र समृद्धिको नेतृत्व गर्ने बताउँछन् । माओवादीलाई कोही कसैले पनि पराजित गर्न नसक्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, “माओवादीलाई हराउन सक्ने तागत कोही कसैसँग छैन । हामी अरुजस्तो पार्टी होइन, राष्ट्र जनताका लागि काम गर्ने पार्टी हो ।” उनले सबै तह, तप्कामा आक्रामक ढङ्गले गयौँ र जनतालाई विश्वासमा लियौँ भने हामी एक नम्बरको पार्टी बन्न सक्ने स्पष्ट पारे ।

अध्यक्ष प्रचण्डले प्रदेश सम्मेलनको उद्घाटनको क्रममा समेत आफ्नो पार्टी चुनौती र अवसरको बीचमा रहेको भन्दै स्पष्ट कार्यदिशाका साथ अगाडि बढे सफल भइने र पार्टीभित्र रहेको अलमललाई हटाएर नयाँ विचारका साथ क्रान्तिकारी बनाएरै छाडिने दृढता व्यक्त गरे ।

आगामी पुसमा आयोजना गरिएको राष्ट्रिय सम्मेलनमा देशभरबाट एक हजार ५०० प्रतिनिधि सहभागी हुनेछन् । सम्मेलनमा सहभागी हुन प्रत्येक प्रदेशबाट न्यूनतम ३० जनाका दरले करिब ३०० प्रतिनिधि छनोट हुने व्यवस्था गरिएको छ । बाँकी प्रतिनिधि केन्द्रीय सदस्य, सल्लाहकार परिषद्, राष्ट्रिय परिषद र विभिन्न आयोगबाट सहभागी हुनेछन् ।

माओवादी केन्द्रको केही दिनअघिको स्थायी समिति बैठकले एक हजार ५०० सङ्गठित सदस्य बराबर एक जना प्रतिनिधि चयन गर्ने निर्णय गरेको थियो । केन्द्रीय सदस्य, सल्लाहकार परिषद्, राष्ट्रिय परिषद् सदस्य, अनुशासन, निर्वाचन र लेखा आयोगका सदस्य सम्मेलनका प्रतिनिधि रहने व्यवस्था गरिएको छ ।

सम्मेलनले नयाँ नेतृत्वसहित राजनीतिक र वैचारिक विषय टुङ्गो लगाउने तयारी गरिएको छ । प्रत्येक प्रदेशले कम्तीमा एक जना घाइते अपाङ्गता भएका व्यक्तिहरूलाई राष्ट्रिय सम्मेलनको प्रतिनिधि अनिवार्य चयन गर्नुपर्नेछ । त्यसैगरी केन्द्रीय कार्यालयबाट पाँच प्रतिशत मनोनितसहित केन्द्रीय विभागबाट ३३ जना प्रतिनिधि हुनेछन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?