लौ चुमे उपाधि केटाहरुले, पहिलो पटक एसीसी यु १६ उपाधि नेपाललाई
नेपालले पहिलोपटक एसिसी यु–१६ प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरा ओभल मैदानमा बुधबार भएको लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ३२ रनले पराजित गर्दै पहिलोपटक उपाधिमाथि कब्जा जमाएको हो । यस उमेरसमूहमा नेपालले अहिलेसम्म उपाधि जित्न सकेको थिएन । नेपालले प्रतियोगितामा उपाधि मात्रै जितेन, दुई वर्षअघि भएको एसिसी इलाइट कप क्रिकेटको हारको बलदासमेत लिन सफल भयो । त्यतिबेला मलेसियाले नेपाललाई फाइनलमा पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४० ओभरमा नौ विकेट गुमाउँदै १६१ रन जोड्यो । जवाफी ब्याटिङमा उत्रेको मलेसिया ३६ दशमलव २ ओभरमा अलआउट हुँदै १२९ रनमा समेटियो । नेपालका पवन सर्राफले सर्वाधिक ४० रनको योगदान दिए भने रवी चन्दले ३४ रन जोडेका थिए । त्यस्तै बलिङतर्फ नेपालका जीतेन्द्र सिहं ठकुरीले दुई तथा आशिष पोखरेल, रिजन ढकाल र सुमित मर्हजनले समान एक÷एक विकेट लिए । त्यस्तै, मलेसियाका तीन ब्याट्सम्यान रनआउट भए भने वीरनद्वीप सिंहले पाँच रन जोड्दै आउट भए । मुहम्मद हरिसले ३४ रन जोड्नुबाहेक अन्य व्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । प्रतियोगितामा पहिलो इनिङ्को सुरुवातीमा नेपालले कमजोर बलिङ गरे पनि त्यसको मध्यतिर उत्कृष्ट खेल प्रर्दशन गरेको थियो । उक्त प्रतियोतिामा ‘म्यान अफ द टुर्नामेन्ट’को उपाधि नेपालका अनिल खरेल र ‘बलर अफ द टुर्नामेन्ट’ जितेन्द्र सिंह ठकुरी घोषित भए । उत्कृष्ट ब्याट्सम्यानको उपाधि मलेसियाका वीरनद्वीप सिंहले प्राप्त गरे । यसैबीच, नेपाल क्रिकेट सङ्घ (क्यान) ले उक्त नेपाली टोलीले प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गरेको भन्दै टोलीलाई जनही रु २० हजार दिने घोषणा गरेको छ । नेपाल यसअघि सन् २०१० र २०१२ मा भएको एसिसी यु–१६ इलाइट कप क्रिकेट प्रतियोगितामा उपविजेता बनेको थियो । एसियाली क्रिकेट परिषद्ले टेस्ट नखेल्ने राष्ट्रमध्ये उमेर समूहमा उत्कृष्ट छ टोलीबीच पहिलोपटक राउन्ड रोविनका आधारमा उक्त प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा नेपालसहित मलेसिया, ओमन, सिङ्गापुर, बहराइन र थाइल्यान्डले प्रतिस्पर्धा गरेका थिए ।