कृषिले नै गर्छ देशको विकास: खनाल
नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले मुलुकको समग्र आर्थिक विकासको मियो कृषि भएको बताउनुभएको छ । नेपालको पहिलो कृषि साप्ताहिक तेस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा कृषि पत्रकार समाज नेपालद्वारा आयोजित कार्यक्रममा नेता खनालले दक्ष जनशक्ति कृषि क्षेत्रमा लगाउन सरकारले नीति र कार्यक्रममै समावेश गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकमा रोजगारीको अवसर नभएको भन्दै विदेशमा ‘लाउर जाने’ प्रवृति रोक्नुपर्ने र वैदेशिक रोजगारीका लागि गए पनि दक्ष भएर मात्र जानुपर्ने जरुरी छ भन्नुभयो । नेपाल कृषि महासङ्घका अध्यक्ष तथा पूर्व सचिव गणेश केसीले देशव्यापी रूपमा कृषकमा समस्यालाई बाहिर ल्याएर समाधान गर्नका लागि र कृषकलाई सुसूचित गर्नका लागि महत्वपूर्ण काम गरेको बताउनुभयो । प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले राजनीतिक विचारका पत्रपत्रिका बढी भएको अवस्थामा कृषि पत्रिका आउनु अत्यन्तै राम्रो भएको भन्दै कृषकका समस्या उजागर गर्न सहयोग पु¥याउने पत्रिकाको लागि प्रेस काउन्सिलले पनि आवश्यक सहयोग गर्ने उल्लेख गर्नु भयो । कार्यक्रममा अष्ट्रिच व्यवसायी सीपी शर्मा, थोपा सिँचाइ प्रविधिमार्फत व्यावसायिक कृषि गर्न सफल बुद्धिराम ढकाल, गाईपालन व्यवसायी शशी पौडेल, महिला उद्यमी भवानी राणा र जयमुकुन्द खनाललाई पूर्वप्रधानमन्त्री खनालले सम्मान गर्नुभयो । सम्मानित व्यवसायी पौडेलले मुलुकका शासकले कृषि व्यवसायलाई वेवास्ता गर्ने गरेको गुनासो गर्दै बेरोजगार युवापुस्तालाई कृषि पशुपालन व्यवसायमा संलग्न गराउनुपर्ने बताउनुभयो ।