विजेता नेपाली युवा क्रिकेट टोलीका सदस्यलाई जनही ५० हजार दिइने


सरकारले एसिसी यु–१६ प्रिमियर लिग क्रिकेट जितेर फर्किएका नेपाली टोलीलाई जनही रु ५० हजार दिने भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)द्वारा आयोजित कार्यक्रममा खेलाडीलाई सम्मान गर्दै युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले मन्त्रालयमा बसेको बैठकले खेलाडीलाई प्रोत्साहनस्वरुप नगद दिने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले दक्षिण कोरियाको इचोन सहरमा हुने एसियाली खेलकुद प्रतियोगितामा पनि गत संस्करणभन्दा यसपटक नेपालले राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाले क्यानमा भइरहेको विभिन्न समस्याको बाबजुद टोलीले यस किसिमको सफलता हासिल गर्नु भविष्यको क्रिकेट खेलको विकासमा शुभ सङ्केत देखिएको बताउँदै क्रिकेट खेललाई बलियो बनाउनका लागि विद्यालयस्तरदेखि नै विभिन्न प्रतियोगिताको आयोजना गर्न सरकारले नयाँ नीति तथा कार्यक्रम ल्याउने जानकारी दिनुभयो । कार्यक्रममा क्यानले यु–१६ टोलीका मुख्य प्रशिक्षक वसन्त शाही ठकुरी, सहायक प्रशिक्षक राजु बस्नेत, टोली व्यवस्थापक रञ्जित तामाङ, खेलाडी कप्तान सुमित महर्जन, अनिल खरेल, आशिष पोखरेल, प्रनीत थापा रविकुमार शाह, रिजन ढकाल, जितेन्द्रसिंह ठकुरी, रवि चन्दलगायत १४ खेलाडीलाई जनही रु २० हजार प्रदान ग¥यो । टोली व्यवस्थापक तामाङले टोलीलाई पर्याप्त तालिम दिन नसके तापनि अपेक्षा गरिएभन्दा राम्रो खेल प्रदर्शन गरेको बताउनुभयो । कार्यक्रममा मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक र टोली व्यवस्थापकले प्राप्त गर्ने रु २० हजारमध्ये २५ प्रतिशत रकम बाढीपीडितलाई प्रदान गर्ने घोषणा गरे । गत साउन २९ देखि यही भदौ ४ गतेसम्म मलेसियामा भएको एसिसी यु–१६ प्रिमियर लिग क्रिकेट प्रतियोगितामा नेपालले उपाधि हासिल गरेको थियो ।

 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?