संविधान समयमै लेख्नका लागि संवाद समिति सक्रिय


संविधानसभाको ‘संवैधानिक–राजनीतिक सम्वाद तथा सहमति समितिले आफूलाई थप गरिएको समयभित्र संविधानका अन्तरवस्तुमा सहमति जुटाउने प्रयासलाई पुनः निरन्तरता दिएको छ । सहमतिका लागि यही असोज १४ गतेसम्मको समयसीमा पाएको समितिको बैठकले दलहरूबीच औपचारिक र अनौपचारिक छलफल गरी सहमति जुटाउने निर्णय गरेको छ । बैठकपछि समितिका सभापति डा बाबुराम भट्टराईले आफूहरूले सीमित समय बाँकी रहेकाले सहमति लागि अहोरात्र लागिपर्ने बताउनुभयो । उहाँले समितिको अर्काे बैठक असोज ८ गतेका लागि राखिएको र त्यस दिनसम्ममा अनौपचारिक र औपचारिक छलफल गरेर निष्कर्ष निकाल्न कोसिस गर्ने जनाउनुभयो । राज्य पुनःसंरचना, शासकीय स्वरूपको निर्धारण र शक्तिको बाँडफाँड, न्याय प्रणालीलगायतका विषयमा शीर्र्ष नेता र सम्बन्धित दलसँग अनौपचारिक छलफल गर्ने जिम्मेवारी समितिले सभापति डा भट्टराईलाई नै जिम्मा दिएको छ । यस्तै, समितिका यसअघिका विवाद समाधान उपसमिति, प्रारम्भिक वार्ता समितिलाई पनि पूर्ववत् जिम्मेवारीको कार्य गर्ने जिम्मेवारी दिइएको छ । समितिको कार्य अवधि गत भदौ २१ मा सकिएपछि हालसम्मको प्रतिवेदन संविधानसभामा पेस गरिएको थियो । संविधानसभाको यही असोज २ गतेको बैठकले सहमति भएका विषयलाई मस्यौदा समिति र सहमति हुन बाँकी विषय सम्वाद समितिमा पुनः पठाउने निर्णय गरेको थियो ।[ninja-popup id=1184 autoopen=true]

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?