राउतलाई कुनै नेपालीले माफी दिन नसक्ने नेता केसीको भनाई
नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सङ्घीयतासहितको संविधान निर्माण गर्न काँग्रेस प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङद्वारा विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले यसका निम्ति संविधानसभा भित्रका र बाहिर रहेका दललाई सहमतिमा ल्याउन प्रयास भइरहेको स्पष्ट पार्नुभयो । तोकिएको समयमा संविधान निर्माण हुने विश्वास प्रकट गर्नुहुँदै उहाँले राजनीतिक संवाद समितिले विवादित विषयहरूलाई असोज १४ गतेभित्र छिनोफानो गरिसक्ने र कात्तिक महिनाभित्रमा संविधानको खाका आउने दाबी गर्नुभयो । सङ्घीय संरचना र शासकीयस्वरूपको विषयमा विवाद रहेको उल्लेख गर्नुहुँदै केन्द्रीय सदस्य केसीले जातीय आधारमा राज्यको निर्माण हुन नसक्ने र एक मधेस भौगोलिक दृष्टिकोणले पनि सम्भव नरहेकाले मधेसमा दुई, पहाडमा चार र राजधानीमा एक गरी सात प्रदेशको पक्षमा काँग्रेस रहेको स्पष्ट पार्नुभयो । उहाँले संविधानसभामाथि उच्चस्तरीय राजनीतिक संयन्त्रको आवश्यकता नरहेको प्रष्ट पार्नुभयो । सिके राउतले राष्ट्रको विखण्डनको विषयमा दिएको अभिव्यक्तिपछि पक्राउ परेको सम्वनधमा पत्रकारहरूले जिज्ञासा राख्दा केन्द्रीय सदस्य केसीले नेपालप्रति आस्था राख्ने कसैले पनि राउतलाई क्षमा नगर्ने भन्दै यस विषयमा कानुनी प्रक्रिया सुरु भइसकेको बताउनुभयो ।[ninja-popup id=1184 autoopen=true]