चीन र भारत सीमानाको तनाव घटाउने विषयमा सहमत


हाल भारतको भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सि जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच यी दुई देशबीचमा कायम रहेको सीमासम्बन्धी समस्याको समाधानका लागि छलफल भएको छ । सो छलफलपछि उहाँहरू उक्त समस्याको समाधान आपसी सहमतिबाटै खोजिने बारेमा सहमत पनि हुनुभएको बताइएको छ । यी दुई देशबीच निकै लामो समयदेखि नै सीमासम्बन्धी विवाद रहेको छ । जसका कारण सन् १९६२ मा युद्ध पनि भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस विषयमा आफूले चिनियाँ राष्ट्रपति सिसँग कुराकानी गरेको बताउनुभएको छ । उहाँले भन्नुभयो– सीमा विवादसम्बन्धी घटनाका बारेमा मैले राष्ट्रपति सिसँग कुरा गरेको छु, यस विषयमा मिलेर कामगर्ने सहमति भएको छ । उहाँले आफूले उत्तरी लादाख क्षेत्रमा रहेको विवादास्पद क्षेत्रका बारेमा कुराकानी गरेको बताउनुभयो । उक्त क्षेत्रमा विगत लामो समयदेखि नै विवाद रहेको छ । जसका कारण सो क्षेत्रमा यी दुई देशबीच हुने गरेका नियमित बैठकहरू पनि अवरुद्ध हुँदै आएका छन् । चिनियाँ राष्ट्रपतिसँगको भेटपछि उहाँले पत्रकारहरूसँग भन्नुभयो– मैले सीमामा हुने गरेका विविध विवादास्पद कामहरूको बारेमा मैले उहाँको ध्यानाकर्षण गराएँ र सीमामा शान्तिपूर्ण अवस्थाको व्यवस्थापन गर्नु भनेको छिमेकीबीचको असल सम्बन्धको मुख्य आधार हो भन्ने बारेमा पनि मैले भने । राष्ट्रपति सिले सीमाको समस्या जसरी पनि समाधान गर्नुपर्दछ भन्नुभएको पनि प्रधानमन्त्री मोदीले बताउनुभयो । लामो समयदेखि सीमा विवादमा फसेका यी देशले एक अर्काले सीमा मिचेको आरोप लगाउने गरेका छन् । उनीहरूले सीमामा हुने गरेका यस्ता क्रियाकलापहरू एक अर्काे देशका सेनाले नै गर्ने गरेका आरोप लगाउने गरेका छन् । सि चिनियाँ विगत आठ वर्षपछि पहिलो पटक भारत भ्रमण गर्ने चिनियाँ राष्ट्रपति हुनुहुन्छ । उहाँले पनि सीमाको समस्या दुई देशबीचको सबैभन्दा आधारभूत समस्या भएकोले यसको समाधानमा ध्यान दिनै पर्ने बताउनुभएको थियो । दक्षिण एसियाली मुलुक मालद्वीप र श्रीलङ्काको भ्रमणपछि चिनियाँ राष्ट्रपति सी भारत पुग्नुभएको हो । यी क्षेत्रमा यसअघि भारतको प्रभाव भए पनि चीनले यहाँ आफ्नो प्रभाव विस्तार गरिरहेको देखिएको छ । यी दुई पक्षको वार्ता आर्थिक सहयोगमा पनि केन्द्रित गर्न चाहेको बताइएको छ । भारतले उसको जीर्ण भएको रेलमार्गलाई सुधार गर्न चिनियाँ कोष तथा पारमाणविक ऊर्जामा सहयोगको खोजी गरेको छ । चीन भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो र दुई मुलुकबीच ६५ अर्ब अमेरिकी डलरभन्दा बढी व्यापार भइरहेको छ । भारतको पक्षमा चीनसँग व्यापार घाटा ४० अर्ब अमेरिकी डलर पुगेको अनुमान गरिएको छ । नयाँ दिल्लीमा केही विश्लेषकले चीनले भारतलाई चारैतिरबाट घेर्न आफ्नो यस क्षेत्रमा संलग्नता विस्तार गरेको दाबी गरेका छन् । दुई मुलुकले बुधबार केही सम्झौतामा हस्ताक्षर गरेका छन् । चिनियाँ राष्ट्रपति सीले बिहीबार भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्नुभयो र समकक्षी प्रणव मुखर्जीसँग भेट गर्नुहुनेछ । दुई मुलुकबीच पारमाणविक सहयोगका साथमा अरु पनि केही सम्झौतामा हस्ताक्षर हुुने अनुमान गरिएको छ । राष्ट्रपति सी भारतीय प्रधानमन्त्री मोदीको बुधबार ६४ औँ जन्मदिन मनाउने क्रममा आयोजना गरिएको रात्रिभोजमा सहभागी हुनुभएको थियो । उहाँ भारतीय प्रधानमन्त्री मोदीको गृहनगर अहमदावादमा आयोजित भोजमा सहभागी हुनुभएको हो ।[ninja-popup id=1184 autoopen=true]

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?