अष्ट्रेलियाले थाल्यो आतंकवादीको खोजीकार्य
सिड्नीसहित अष्ट्रेलियाका केही शहरहरुमा आतंकवादविरुद्धको कारवाहीअन्तर्गत कैयौं व्यक्तिहरुलाई पक्राउ गरिएको छ । सार्वजनिक स्थलमा कुनैपनि किसिमको आतंकवादी घटना घटाउनसक्ने सूचना आएपछि यस किसिमको कारवाही अघि बढाइएको र कम्तिमा पनि १५ ठाउँमा सर्च अपरेशन गरिएको हो । आतंकवादीहरुसँग सम्बन्ध रहेकोभन्दै कम्तिमा एकजनालाई पक्राउ गरिएको र अन्य १५ जनालाई पनि अनुसन्धानको क्रममा नियन्त्रणमा लिइएको सिड्नीका कार्यवाहक संघइि प्रहरी आयुक्त एन्ड्रयू कोल्भीले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । प्रहरीले कस्तो खालको सुरक्षा चुनौती हो भन्ने विषयमा थप केही खलाउन चाहेको छैन । यसअघि बुधबार मात्रै आतंकवादी खतराको स्तर बढेको सुरक्षा अधिकारीहरुले बताएका थिए । अर्कोतर्फ प्रधानमन्त्री टोनी एबटले भने प्रशासनले अष्ट्रेलियाभित्रै कुनै व्यक्तिलाई सार्वजनिक रुपमा हत्या गर्ने योजनामा ईस्लामिक लडाकुहरु रहेको सूचना प्राप्त भएपछि गरिएको बताएका छन् । आतंकवादविरुद्धको लडाईमा साथ दिएपछि अष्ट्रेलियामा आक्रमणको खतरा बढेको भन्दै सुरक्षा संयन्त्रलाई चनाखो पारिएको छ भने अर्कोतर्फ ईस्लामिक स्टेटका तर्फबाट लडाईं लडिरहेकामध्येमा केही अष्ट्रेलियन नागरिक समेत रहेको र उनीहरु देशमा फर्किएर कुनै अनिष्ट निम्त्याउने हुन् कि भन्ने आशंका पनि गर्न थालिएको छ । यसैलाई मध्येनजर गरेर सुरक्षा निकायहरुले आफ्नो सक्रियतालाई बढाएका छन् ।