संविधान निर्माण गर्नु एकमात्र लक्ष्य :प्रधानमन्त्री


प्रधानमन्त्री सुशील कोइरालाले समयमा नै संविधान दिने गरी तयारी भएको बताउनुभएको छ । राष्ट्रिय विज्ञान दिवसका अवसरमा कीर्तिपुरमा नवनिर्मित बिपी कोइराला राष्ट्रिय विज्ञान सङ्ग्रहालयको उद्घाटन एवम् विज्ञान प्रदर्शनीको उद्घाटन गर्दैै उहाँले ६० वर्षभन्दा बढीको सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न देश संविधान निर्माणको महत्वपूर्ण चरणमा बढिरहेको उल्लेख गर्नुभयो । संविधान आउने कुरालाई अब कसैले छेक्न नसक्ने र देश विकासको मार्गमा बढिसकेकामा जोड दिँदै उहाँले भन्नुभयो, “सूर्यलाई हत्केलाले छेक्न नसक्ने भने झैँ देश प्रगतिको बाटोमा अघि बढिसकेको छ ।” विज्ञान तथा प्रविधिको वर्तमान समयमा नेपाल अझै पछि परिरहेको औँल्याउँदै उहाँले विज्ञानका नवीनतम् प्रविधिको उपयोग गरी प्रकृतिको देनलाई उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल आधुनिक युगमा प्रवेश गरिसकेको चर्चा गर्दै प्रधानमन्त्रीले संविधान निर्माणसँगै विज्ञान तथा प्रविधिको उपयोगका माध्यमबाट देशमा ८÷१० वर्षभित्रमा नै धेरै प्रगति हुनेछ भन्नुभयो । नवनिर्मित विज्ञान सङ्ग्रहालय विज्ञान तथा प्रविधिको विकासका लागि निकै उपयोगी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । सभासद् राजेन्द्रकुमार केसीले विज्ञान आज दिनचर्या भइसकेको उल्लेख गर्दै विज्ञानबिना वर्तमानका कुनै पनि भौतिक उन्नति सम्भव नहुने बताउनुभयो । कीर्तिपुरमा निर्मित सङ्ग्रहालय देशको विज्ञान तथा प्रविधिको विकासका लागि निकै उपयोगी हुनेमा उहाँले जोड दिनुभयो । त्रिभुवन विश्वविद्यालय स्थापनाका क्रममा जग्गा प्रदान गरेर महत्वपूर्ण योगदान पु¥याएका कीर्तिपुरवासीलाई रोजगारलगायतका क्षेत्रमा प्राथमिकता दिइनुपर्ने उहाँले उल्लेख गर्नुभयो । सरकारका मुख्यसचिव लीलामणि पौडेलले विज्ञान तथा प्रविधिको विकासका लागि वैज्ञानिकहरुको पलायनवादी सोचमा परिवर्तन आउनुपर्ने बताउनुभयो । विज्ञान तथा प्रविधिको विकासका लागि ज्ञानका साथै त्यसको प्रयोगात्मक अध्ययन अपरिहार्य हुनेमा उहाँको जोड थियो । सङ्ग्रहालय विकास समितिका निर्देशक डा शोभाकान्त लामिछानेले वैज्ञानिक ज्ञानमा आधारित समृद्ध समाज निर्माणका लागि नतिजामुखी सिर्जनशील अनुसन्धान आवश्यक हुने बताउनुभयो । विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयका सचिव डा कृष्णचन्द्र पौडेलले विज्ञान प्रविधिको वर्तमान युगमा ज्ञान र विज्ञानको प्रयोगबाट देशलाई समुन्नत बनाउनुपर्ने बताउनुभयो । रु ६२ करोडको लागतमा निर्मित उक्त सङ्ग्रहालय १५० रोपनी क्षेत्रफलमा रहेको छ ।
यसैबीच, राष्ट्रिय विज्ञान दिवस २०७१ को अवसरमा आज १६ जना छात्रछात्रा र दुई जना शिक्षक सम्मानित भएका छन् । दिवसको अवसरमा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशील कोइरालाले उनीहरुको सम्मान गर्नुभएको हो । मन्त्रालयले २०७० सालको एसएलसी परीक्षामा विज्ञान विषयमा उत्कृष्ट अङ्क प्राप्त गर्ने पाँचवटै विकास क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीलाई रु पाँच हजार नगद र प्रमाणपत्रसहित विद्यार्थीलाई सम्मान गर्नेे निर्णय गरेको थियो भने शिक्षा दिवस २०७१ मा उत्कृष्ट ठहरिएका विद्यालयका विज्ञान शिक्षकलाई सम्मान गरेको थियो । सम्मानित हुने विद्यार्थीमा पूर्वाञ्चल विकास क्षेत्रबाट सामुदायिकतर्फ सत्यदेवी मावि झुल्के, उदयपुरकी छात्रा निकिता सुवेदी (विज्ञान विषयमा ७४ अङ्क प्राप्त) र संस्थागततर्फ नमुना विद्या आवासिय मावि विराटनगरका शशाङ्क भट्टराई (७३), पाराडाइज मावि गाईघाट उदयपुरका रोशनकुमार यादव (७३) क्यानभास एकेडेमी गाईघाट उदयपुरका कस्तुरवा कट्टेल (७३), मध्यमाञ्चल विकास क्षेत्रबाट सामुदायिकतर्फ जानकी मावि लालबन्दी सर्लाहीका प्रिन्स ठाकुर (७३), संस्थागततर्फ हिमालयन ग्लोरी इङ्गलिस स्कुल, भक्तपुरका सुशील द्योपाल (७४), एभरेस्ट मावि जवदी– ८ सर्लाहीका मणिकान्त ठाकुर (७४), त्यही विद्यालयका विदुर घिमिरे (७४) रहेका छन् । पश्चिमाञ्चल विकास क्षेत्रबाट सामुदायिकतर्फ जनज्योति मावि कालीकास्थान कास्कीका प्रवेश क्षेत्री (७२), संस्थागततर्फ मिनर्भा इ इङ्गलिस बोर्डिङ स्कुल रुपन्देहीका ऋषिराज गुरुङ (७४), मध्यपश्चिमाञ्चल विकास क्षेत्रबाट सामुदायिक विद्यालयतर्फ नेपाल राष्ट्रिय मावि वडाखोली महेल्खु सुर्खेतका सपुत डाँगी (७३), संस्थागततर्फ गोर्खा युनाइटेड पब्लिक स्कुल राजहना बाँकेका नविनराज चौलागाईं, जनज्योति विद्यामन्दिर त्रिभुवननगर दाङका सन्नीकुमार लाव (७२), सुदुरपश्चिमाञ्चल विकास क्षेत्रबाट सामुदायिक विद्यालयतर्फ हिमालय राष्ट्रिय मावि पथरिया–कैलालीकी कविता न्यौपाने (७१), संस्थागततर्फ इन्टरनेसनल पब्लिक स्कुल महेन्द्रनगर कञ्चनपुरका अविनाश वम (७४), उक्त स्कुलकै आकाश जोशी (७४) रहेका छन् । त्यस्तै, सम्मानित हुने विज्ञान शिक्षकमा सामुदायिक विद्यालयबाट आदर्श सौल युवक उच्च मावि, ललितपुरका लक्ष्मणबाबु तिवारी र संस्थागत विद्यालयबाट बुढानीलकण्ठ स्कुल, काठमाडौँका विजयकुमार अधिकारी रहेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?