भारतको सफल मङ्गल अभियानको अर्थ


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसै साता ‘मार्स अर्बिटर मिसन’ नाम दिइएको मङ्गल परिक्रमा अभियानअन्तर्गत मङ्गलयान रातो ग्रहको कक्षमा सफल रूपमा स्थापना हुने प्रक्रिया भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) बाट प्रत्यक्ष रूपमा अवलोकन गर्नुभयो । पहिलो प्रयासमा यस यात्रामा इसरोको सफलतालाई उहाँले लगभग असम्भव कार्य सम्भव भएको घटनाको रूपमा लिनुभयो । मङ्गल परिक्रमा अभियानले सात करोड ४० लाख अमेरिकी डलरको लागतमा उक्त सफलता हासिल गरेको बताइएको छ र यो रकम अमेरिकी अन्तरिक्ष संस्था नासाले माभेन (मार्स एटमोसफेयर एन्ड भोलाटाइल इभोलुसन) अन्तरिक्ष यान मङ्गलमा पठाएको लागतको दश प्रतिशत मात्र भएको दाबी गरिएको छ । मङ्गलयानभन्दा दुई दिन अगाडि माभेन मङ्गल ग्रहको कक्षमा पुगेको हो । इसरोको बङ्गलौर नगरस्थित अन्तरिक्ष कमान्ड केन्द्रमा सयौँ वैज्ञानिकले खुसीसाथ यो अभियान सफल भएको घोषणा गरेपछि प्रधानमन्त्री मोदीले भारतले सो दिन इतिहास बनाएको घोषणा गर्नुभयो । यसरी भारत अमेरिका, रसिया, युरोपसँगै मङ्गलको परिक्रमा गरी वा मङ्गलमै रहेर अनुसन्धान गर्न यान पठाउने मुलुकको समूहमा सहभागी भएको छ । भारतले यस्तो सफलता पहिलो प्रयासमै प्राप्त गरेको दाबी गरिएको छ । उक्त यानलाई मङ्गलको कक्षमा सरल रूपमा परिक्रमा गर्न बैज्ञानिकहरूले ४४० ‘न्युटन लिक्विड इन्जिन’ र आठ साना ‘थ्रस्टर’ सञ्चालन गरेका थिए । मङ्गलयान यस ग्रहको कक्षमा स्थापित हुनासाथ नासाका प्रशासक चाल्र्स बोलडेनले एक विज्ञप्ति प्रकाशन गर्नुभई भारतलाई वधाइ ज्ञापन गर्नुभयो । चीनले सन् २०११ मा यस्तै प्रयास गरेको थियो तर त्यो प्रयास असफल भएको थियो । यसअघि यस्ता ४१ प्रयास भएकामा आधाभन्दा बढी प्रयास असफल भएका थिए । त्यसो त अमेरिका सन् १९६४ मै म्यारिनर मार्फत मङ्गलवरपर पुग्न सफल भएको थियो र उसको यानले त्यहाँको २१ वटा चित्र पठाएको थियो । पूर्व सोभियत सङ्घ सन् १९७१ मा मङ्गलमा पुगेको थियो भने युरोपेली अन्तरिक्ष संस्था सन् २००३ मा त्यहाँ पुगेको थियो । अमेरिकी ‘क्युरियोसिटी एन्ड अपरचुनिटी रोभर’ त मङ्गलको सतहमा क्रियाशील रहेको छ भने यसको ‘मार्स रिकनेसान्स अर्बिटर’ तथा ‘मार्स ओडिसी’ मङ्गलको कक्षमा परिक्रमा गरिरहेका छन् । यसै गरी एसाको मार्स एक्सप्रेस पनि मङ्गलको कक्षमा अवस्थित छ । भारतको मङ्गलयानले मङ्गल ग्रहको कक्षमा प्रवेश गर्नुपूर्व ६६ करोड ६० लाखको दूरी तय गरेको थियो । यस यानले मङग्रहको वातावरण तथा सतहको अध्ययन गर्नेछ र त्यहाँ मिथेन छ कि छैन भन्ने परीक्षण गर्नेछ । यसले मङ्गलमा जीवको सम्भावनालाई प्रष्ट पार्नेछ । यसका लागि यस यानमा पाँच वैज्ञानिक उपकरण राखिएका छन् । दश महिना अगाडि १३५० किलोको उक्त यानलाई श्रीहरिकोटा द्वीपबाट प्रक्षेपण गरिएको थियो । केही आलोचकले एक अर्ब २० करोड जनसङ्ख्या भएको भारत अझै पनि व्यापक खाद्यान्न अभाव तथा गरिबीबाट प्रभावित भइरहेको समयमा सात करोड अमेरिकी डलरको खर्चप्रति नै प्रश्न गरेका छन् । त्यसो त यो लागत हलिउडको चलचित्र ‘ग्र्याभिटी’ को उत्पादन लागत भन्दा पनि कम भएको बताइएको छ । ड्वेचे वेलेलाई अमेरिकी राइस स्पेस इन्स्टिच्युटका डेविड अलेक्जान्डरले दिनुभएको अन्तर्वार्तामा भारतको वर्तमान सफलताले भविष्यमा सबै सफलतालाई प्रत्याभूत नगरेपनि यो आफैँमा ठूलो उपलब्धि भएको बताउनुभएको छ । उहाँले पहिलो प्रयासमा सफलताले अन्तरिक्षमा जटिल परिचालनमा इसरोको क्षमतालाई प्रष्ट पार्ने धारणा राख्नुभएको छ । उहाँले भारत यस अभियानमा थपिँदा भविष्यमा सौर्य प्रणाली तथा अन्तरिक्षको अन्वेषणमा आवश्यक पर्ने बढी जटिल अभियान र त्यसको अन्तर्राष्ट्रिय साझेदारी र सहयोगलाई थप बल प्राप्त हुने उल्लेख गर्नुभएको छ । भारतले यस क्षमतालाई आफ्नो दूरसञ्चार, जलवायु तथा पर्यावरण अनुगमन, आधाभूत संरचना निर्माण, आर्थिक क्षमता विस्तार, शैक्षिक तथा प्राविधिक क्षेत्रमा सहयोग तथा सुरक्षाको क्षेत्रमा सूचना तथा सहयोगमा प्रयोग गर्नसक्ने र त्यसले भारतीय जनता समग्रलाई फाइदा दिनसक्ने उहाँले बताउनुभयो । उहाँले भारतले मार्स अर्बिटर मिसन (मम) को माध्यमबाट आफ्नो क्षमता प्रदर्शन गरेकाले उसले अन्तरिक्ष तथा मङ्गलवरपर सामग्री पठाउने क्षमता समेत प्रदर्शन गरेको बताउनुभयो । यसबाट भविष्यमा अन्तरिक्ष प्रविधि विकास, उडान तालिम, अभियान नियन्त्रण कक्षका कर्मचारीलाई तालिम तथा अन्तरिक्षमा उपकरण प्रक्षेपण गर्ने विषयमा भारतलाई बजार उपलब्ध हुने देखिन्छ । हाल विश्वको अन्तरिक्ष प्रविधिको बजार २०० अर्ब अमेरिकी डलर बराबर रहेको अनुमान गरिन्छ । भारत यस बजारमा आफ्नो उपस्थिति देखाउन चाहन्छ । यसमा चीन हाल कडा प्रतिस्पर्धीको रूपमा देखापरेको छ । केही अर्थशास्त्रीहरू भारतका अन्तरिक्ष वैज्ञानिकको क्षमता व्यापक रहेको र उक्त क्षमतालाई उपयोग गर्न खर्च गर्न नसकिएको बताएका छन । अलेक्जान्डरले भारतमा कर्मचारीको पारिश्रमिक कम भएकाले पनि मङ्गलयानको लागत कम भएको हुनसक्ने र मङ्गल यानमा १३ किलोग्रामको उपकरण भएकोमा अमेरिकी माभेनमा ६५ किलोग्रामको उपकरण भएकाले पनि माभेनको लागत बढेको हुनसक्ने बताउनुभयो । अधिक उपकरण र त्यसको क्षमता विस्तारका लागि आधारभूत संरचना र अन्तरिक्ष यानकै संरचना विस्तार हुने देखिन्छ । माभेनको लागत ६७ करोड अमेरिकी डलर रहेको छ । उहाँले अमेरिका तथा सोभियत सङ्घबीच सन् १९६० तथा १९७० को दशकमा भएको अन्तरिक्ष दौडलाई भारत तथा चीनले अनुसरण गर्न नहुने र वैज्ञानिक खोजका लागि मिलेर जानु उपयुक्त हुने बताउनुभयो । व्यापारिक प्रक्षेपणका लागि दुई मुलुकबीच प्रतिस्पर्धा हनसक्ने देखिन्छ । उहाँले अमेरिकी नेतृत्वमा युरोप, रसिया, भारत तथा चीनले अन्तरिक्ष अन्वेषणमा सहभागिता जनाउनुपर्ने र सरकारी सहयोग बिनै उपभोक्ताका लागि अन्तरिक्षसम्बन्धी सेवा प्रदान गर्ने निजी क्षेत्रको व्यापारिक अवसर विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । यस वर्ष भारतले प्रक्षेपण र रणकौशलको क्षेत्रमा निकै ठूलो उपलब्धि हासिल गरेको छ । यसै वर्षको जुन महिनामा प्रधानमन्त्री मोदीले गोवाको तटमा आईएनएस विक्रमादित्य नामक युद्धकजहाज भारतीय नौसेनामा स्थापना गर्नुभएको थियो । त्यस समयमा भारतको प्रतिरक्षा उपकरण उत्पादन गर्नसक्ने क्षमता देखिएको विश्लेषकहरूले बताएका थिए । त्यसो भए पनि उक्त जहाज भारतले रसियाबाट किनेर पुनःप्रयोगका लागि तयार गरेको हो । भारतले हालसम्म अनेकौँ सफल अन्तरिक्ष प्रक्षेपण गरेको छ र सन् २००८ मा चन्द्रयान–१ मार्फत चन्द्रमामा पानी भएको प्रमाण फेला पारेको थियो । यी सबै क्षमताबीच भारत अर्झै पनि विश्वको सबैभन्दा अधिक हतियार आयातकर्ताको रूपमा रहेको छ । उक्त जानकारी स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटले सन् २०१२ मै दिएको हो । यसको प्रमुख कारणको रूपमा विशेषज्ञहरूले भारतको प्रशासनमा व्यापक भ्रष्टाचार र निस्क्रियपनालाई दोष दिएका छन् । हिन्दुस्तान टाइम्सले उक्त विवरणका साथ दिएको समाचारमा भारतीय सेनाले गत २५ वर्षमा चेक गणतन्त्रबाट दोब्बर मुल्यमा सात हजार टाट्रा ट्रक किनेको उल्लेख गरेको छ । समाचारमा अवकाश प्राप्त जनरल तथा वर्तमान उत्तरपूर्वी मामिलाका राज्यमन्त्री भीके सिंहले टाट्रा ट्रक खरिद गर्न आफूलाई १४ करोड भारतीय रूपैयाँ दिन खोजिएको बताउनुभएको उल्लेख गरिएको छ । उक्त समाचारमा भारतले रसियाबाट सबैभन्दा बढी हतियार खरिद गर्ने गरेको र रसियाको अकाउन्टिङ च्याम्बर्सले मस्कोमा हतियार खरिदमा भारतीय मध्यस्थकर्ताले १० देखि १५ प्रतिशत कमिसन पाउने र पाँच प्रतिशत कमिसन रसियाली अधिकारीहरूलाई दिनुपर्ने अवस्था देखिएको उल्लेख गरेको जानकारी दिइएको छ । भारतको प्रतिरक्षा मन्त्रालयले हालै इटालीको एक कम्पनीबाट खरिद गर्ने भनिएको हेलिकप्टरको सम्झौता भ्रष्टाचारकै कारण खारेज गरेको छ । भारतीय प्राविधिकको काम गर्ने शीप र क्षमतामा हालसम्म सकैले पनि प्रश्न गरेका छैनन् तर भारतीय राजनीतिज्ञ तथा प्रशासकको भ्रष्टाचारमा संलग्न नहुने र नियन्त्रण गर्ने चाहना र क्षमतामा तथा उत्पादनशील अभिप्रेरक क्रियाशीलतामा प्रश्न उठाउन नसकिने नभएसम्म प्राविधिकको क्षमता दबेरै रहने देखिन्छ । मङ्गलयान उक्त ग्रहको कक्षमा सफल अवतरणपछि इसरोका प्रमुख के राधाकृष्णनले आफूहरू आफ्नो काममा विश्वस्त भएको तर आत्मप्रशंसक नभएको बताउनुभएको थियो । उहाँले आफूहरूलाई सबैभन्दा राम्रो अवसर उपलब्ध भएको र मङ्गलको कक्षमा मङ्गलयान अवतरण भएझैँ अन्य कुराले पनि सही रूपमा काम गर्नु आवश्यक भएको पनि बताउनुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?