एक घण्टामा ३२ लाख वृक्षारोपण गर्दै वल्र्ड रेकर्ड
फिलिपिन्समा राष्ट्रिय वृक्षरोपण कार्यक्रमअनुसार एक घण्टामा ३२ लाख रुखका बिरुवा रोपिएको नयाँ कीर्तिमान कायम भएको जानकारी अधिकारीहरूले शनिबार दिएका छन् । यस विषयमा गिनिज वल्र्ड रेकर्ड्सको आधिकारिक पत्र प्राप्त गर्न अझै समय लाग्ने बताइएको छ । यसो भए पनि सरकारी अधिकारीहरूले भारतमा सन् २०११ को अगस्त १५ मा कायम भएको एक घण्टामा १९ लाख रुखका बिरुवा रोपिएको कीर्तिमान तोडिएकोमा आफूहरू विश्वस्त भएको बताएका छन् । यी बिरुवा फिलिपिन्सको दक्षिणी भागमा रहेको मिन्दानाओ द्वीपका छ विभिन्न क्षेत्रमा एक लाख ६० हजार जनताले रोपेको जानकारी दिइएको छ । यसमा सरकारी कर्मचारी, विद्यार्थी तथा स्वयंसेवी संलग्न भएको जानकारी क्षेत्रीय वातावरण निर्देशक मार्क फ्रागाडाले दिनुभयो । उहाँले एक घण्टामा ३२ लाख रुखका बिरुवा रोपिएको आफूहरूले गनेको बताउनुभयो । उहाँले आफूहरूले यस विषयमा प्रमाण तयार गर्नुपर्ने बताउनुभयो । यस कार्यक्रममा कोका, कफी र रबरका रुख रोपिएको जानकारी दिइएको छ । उहाँले यी रुख स्थानीय जनताका लागि जीविकाको भाग हुने भएकाले उनीहरूले यसलाई राम्रोसँग स्याहार गर्ने आशामा यी प्रजातिका बिरुवा रोपिएको बताउनुभयो । आयोजकहरूले आरम्भमा एक घण्टामा ४६ लाख रुख रोप्ने योजना बनाएको वातावरण उपसचिव दिमित्रीयो इगनासियोले बताउनुभयो । उहाँले गणनाको आधारमा आफूहरूले भारतमा भन्दा बढी रुख रोपेको देखिएको तर त्यसको औपचारिक पुष्टि गिनिजले मात्र गर्नसक्ने बताउनुभयो । फिलिपिन्सका द्वीपहरूको समूह कुनै समय रुखले ढाकिएको भए पनि हाल विकास, बन फडानी तथा डढेलोका कारण नष्ट भएको बताइएको छ । फिलिपिन्समा वनले ढाकेको क्षेत्र सन् २००३ मा २५ लाख ६० हजार हेक्टर भएकोमा सन् २०१० मा यो क्षेत्र १९ लाख ३० हजारमा झरेको बताइएको छ । राष्ट्रपति बेनिग्नो अक्विनोले यस अवस्थालाई सच्याउन कार्यक्रम सञ्चालन गर्नुभएको छ र सन् २०१६ मा उहाँले पदत्याग गर्नुअगाडि १५ लाख हेक्टर जग्गामा एक अर्ब ५० करोड रुखका बिरुवा रोप्ने योजना बनाउनुभएको छ ।