प्रधानमन्त्री कोइराला र महासचिव बानबीच भेटवार्ता


प्रधानमन्त्री सुशील कोइराला र संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि–मुनबीच शिष्टाचार भेटवार्ता भएको छ । संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा भएको भेटवार्तामा उहाँहरुबीच संविधान लेखन, शान्ति प्रक्रिया, सत्य निरुपण तथा मेलमिलाप आयोग गठन तथा विश्व शान्तिस्थापना कार्यमा नेपालले पु¥याउँदै आएको योगदानका बारेमा छलफल भएको थियो । सो अवसरमा महासचिव बानले नेपालको राजनीतिक सङ्क्रमणको व्यवस्थापनका लागि प्रधानमन्त्री कोइरालाले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । विश्व शान्ति स्थापना कार्यमा नेपालले गरेको योगदानको सह्राना गर्दै उहाँले शान्ति स्थापनामा कार्यमा नेपाली सुरक्षा फौजले साहसिक र व्यावसायिक प्रदर्शन गरेको बताउनुभयो । नेपालको शान्ति प्रक्रिया र संविधान लेखनले छिटोभन्दा छिटो निष्कर्ष पाउने विश्वास व्यक्त गर्दै महासचिव बानले आफूले शान्त र समृद्ध नेपाल देख्न चाहेको बताउनुभयो । प्रधानन्त्री कोइरालाले जलवायु परिवर्तनबाट मानिस र प्रकृतिमा परेको असर न्यून गर्ने सन्दर्भमा महासचिव स्वयम्ले चासो दिएर जलवायु परिवर्तनसम्बन्धी सम्मेलनको आयोजना गर्नुभएकामा धन्यवाद व्यक्त गर्नुभयो । भेटवार्तामा प्रधानमन्त्री कोइरालाले विश्व शान्ति स्थापनाका लागि नेपालले निरन्तर योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरेको परराष्ट्र मन्त्रालयका कामु सचिव शङ्करदास वैरागीले जानकारी दिनुभयो । प्रधानमन्त्री कोइरालाले महासचिव बानलाई नेपाल भ्रमणको निम्तोसमेत दिनुभयो । सो अवसरमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, प्रधानमन्त्रीका परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार डा दिनेश भट्टराई, राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलगायत भ्रमणदलका अन्य सदस्य सहभागी हुनुहुन्थ्यो ।
मोदीसँग पनि भेट
प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भारतीय प्रधानमन्त्री मोदी बस्दै आउनुभएको यहाँस्थित न्युयोर्क प्यालेस होटलमा भएको भेटवार्तामा उहाँहरुबीच दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा विचारविमर्श भएको थियो । भारतीय प्रधानमन्त्री मोदीले गरेको नेपाल भ्रमणको स्मरण गर्दै काठमाडौँमा आगामी मङ्सिरमा हुने १८ आँै सार्क सम्मेलनको तयारी, जलस्रोत विकास तथा संविधान लेखन र शान्ति प्रक्रियामा हालसम्म भएका प्रगतिका बारेमा केन्द्रित रहेर दुवै प्रधानमन्त्रीबीच छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपालको शान्ति प्रक्रिया र संविधान लेखनमा भारतलगायत अन्तर्राष्ट्रिय समुदायबाट भएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै सबै राजनीतिक दलको सहमतिमा संविधान लेखनमा भएको प्रगतिबारे जानकारी गराउनुभएको थियो । उक्त अवसरमा भारतीय प्रधानमन्त्री मोदीले भारतीय लगानीमा छिमेकी मुुलुकमा सञ्चालन हुने परियोजनाको आवश्यक अनुगमनसहित समयसीमा तोकेर शीघ्र कार्यान्वयनका लागि निर्देशन दिइसकेको जानकारी गराउनुभएको परराष्ट्र मन्त्रालयका कामु सचिव शङ्करदास वैरागीले बताउनुभयो । भेटका अवसरमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, प्रधानमन्त्रीका परराष्ट्रमामिला सहल्लाहकार डा दिनेश भट्टराई, प्रधानमन्त्रीका प्रमुख निजी सचिव वसन्तकुमार गौतम, संयुक्त राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई, परराष्ट्र मन्त्रालयका कामु सचिव वैरागी, सहसचिव दीपक धिताललगायत हुनुहुन्थ्यो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?