अमेरिकाका नेपालीमाझ प्रधानमन्त्री, नेपालको विकासलाई कसैले रोक्न नसक्ने भनाई


प्रधानमन्त्री सुशील कोइरालाले संविधान लेखनका लागि मुलुकमा राम्रो वातावरण बन्दै गएकाले सबैको हकअधिकारको सुनिश्चित भएको लोकतान्त्रिक संविधान जारी हुनेमा अब आशङ्का नगर्न आग्रह गर्नुभएको छ । अमेरिकाको न्युयोर्कमा बस्दै आएका नेपाली समुदायसँगको अन्तक्र्रियामा उहाँले तोकिएकै समयमा संविधान जारी गर्नुपर्छ भन्नेमा सबै राजनीतिक दल र अन्तर्राष्ट्रिय समुदायसमेत ठूलो चासो र चिन्तित रहेकाले आशङ्का गरिरहन आवश्यक नरहेको बताउनुभयो । शान्ति र स्थायित्व भएमा मात्र मुलुकले विकासको लक्ष्य हासिल गर्नसक्ने बताउँदै प्रधानमन्त्री कोइरालाले भन्नुभयो, “मुलुकमा शान्ति, स्थायित्व, लोकतन्त्र र विकास आयो, अब यसलाई कसैले रोक्न सक्दैन ।” जनताको अधिकार स्थापित गराउन जीवनभर लोकतन्त्र र लोकतान्त्रिक आन्दोलनमा योगदान पु¥याएका नेताहरूप्रति आशङ्का गरेर टीकाटिप्पणी मात्र गर्न सुझाव दिँदै उहाँले अब मुलुकमा कुन क्षेत्रमा लगानी गर्ने भन्ने सोच्न प्रवासी नेपालीलाई सल्लाह दिनुभयो । खमुलुक अब विकासतर्फ अग्रसर भएको छ, राम्रो महोल बन्दै गएको छ, प्रचुरमात्रामा रहेका प्राकृतिक स्रोत साधनको कसरी उपयोग गर्ने तथा कुन क्षेत्रमा अब लगानी गर्ने भन्ने विषयमा एउटा निष्कर्षमा पुग्नुपर्ने बेला आएको छ, प्रधानमन्त्री कोइरालाले भन्नुभयो । द्वन्द्व र विध्वंसले मात्र अब मुलुक बाँच्न नसक्ने बताउँदै उहाँले ठूलो परिवर्तनबाट हासिल गरेका उपलब्धिलाई बचाउन अब आशङ्का होइन, सकारात्मक दबाबको खाँचो छ भन्नुभयो । परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले मुलुकलाई विश्व समुदायमा परिचित गराउने आधारका रुपमा सगरमाथा, लुम्बिनी र जातजाति, भाषा र संस्कृति भएकाले यी कुरालाई ध्यानमा राखेर जारी गरिने नयाँ संविधानले नेपाली समाजमा हार्दिकता बढाउने विश्वास व्यक्त गर्नुभयो । राष्ट्र, राष्ट्रियता र संविधानमा लेखिएका विषयवस्तुको हेक्का गरेर मात्र हकअधिकारका कुरा गर्नु बुद्धिमानी हुने बताउँदै उहाँले आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्ने काममा सरिक हुन आह्वान गर्नुभयो । समारोहमा सिन्धुपाल्चोक पहिरोमा परेर क्षति भएको विद्यालयको भवन बनाउन सिन्धु समाजले सङ्कलन गरेको ३५ हजार डलर प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरिएको थियो । समारोहमा गैरआवासीय नेपालीहरूको संस्था एनआरएनका अध्यक्ष खगेन्द्र जिसी र जनसम्पर्क समिति न्युयोर्कका अध्यक्ष विष्णु सुवेदीलगायतले अमेरिकामा अस्थायी बसोवास गर्दै आएका नेपाली नागरिकले खासगरी राहदानीसम्बन्धी समस्या धेरै भोग्नुपरेकाले यो विषय सुल्झाइदिन आग्रह गर्नुभएको थियो । त्यस अवसरमा पोखरा घर भई हाल अमेरिकामा अध्ययन गर्दै आएका सौर्य र आर्य बरालले आफ्नो खाजा खर्चबाट जोगाएको ६५० अमेरिकी डलर प्रधानमन्त्रीमार्फत सिन्धुपाल्चोकको बाढीपीडित परिवारलाई प्रदान गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?