विराटनगरको एक कारखानामा भीषण आगलागी, करोडौंको क्षति


मोरङको नगरोन्मुख गाविस टङ्कीसिनवारी–४ स्थित सुरभी पोलिमर्स उद्योगमा आइतबार विहान आगलागी हुँदा करोडौँ मूल्यबराबरको धनमाल क्षति भएको छ । चप्पल उत्पादन गर्ने सो उद्योगको उत्पादन कक्षमा आज बिहान लागेको आगोले मेसिनसहित उत्पादन भएका चप्पल र त्यसका कच्चा पदार्थसमेत जलेर नष्ट भएका छन् । आगो विराटनगर र इटहरीबाट आएको वारुणयन्त्र, स्थानीयवासी र प्रहरीको टोलीले डेढ घण्टाको प्रयासपछि नियन्त्रणमा लिइएको थियो । विद्युत् चुहेर आगलागी भएको हुनसक्ने सुरभी पोलिमर्सका सञ्चालक विकास चौधरीले जानकारी दिनुभयो । आगलागीको सूचना प्राप्त हुनासाथ घटनास्थल पुग्नुभएका जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले क्षतिको यकिन विवरण आउन बाँकी रहेको जानकारी दिनुभयो । उद्योग सञ्चालकले भने करोडौँ मूल्यबराबरको क्षति भएको दाबी गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?